पाकिस्तानको रेल अपहरणको आरोप लागेपछि बोल्यो भारत

पाकिस्तानको रेल अपहरणको आरोप लागेपछि बोल्यो भारत

एजेन्सी : पाकिस्तानमा भएको जाफर एक्सप्रेस अपहरणमा भारतको हात रहेको पाकिस्तानको आरोपको भारतले त्यसको जवाफ दिएको छ।

शुक्रबार भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले पाकिस्तानले आफ्नो असफलताको दोषारोपण अरुलाई गर्न नहुने भन्दै आरोपको खण्डन गरे।

मंगलबार, जाफर एक्सप्रेसलाई बलुच लिबरेशन आर्मीले अपहरण गरेको थियो।

बिहीबार एक पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले रेल अपहरण प्रकरणमा अफगानिस्तानबाट गरिएका फोन कलहरूको प्रमाण प्रस्तुत गरेका थिए।

उनलाई ‘आतंकवादी हमलाको मामिलामा पाकिस्तानको अडान भारतबाट अफगानिस्तानतिर सरेको हो?’ भन्ने प्रश्नमा उनले भनेका थिए, ‘पाकिस्तानमा भइरहेका आतंकवादी हमलाहरूमा भारतको हात रहेको विश्वास गर्छ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यी आरोपहरूको जवाफ दिएका छन्।

‘हामी पाकिस्तानले लगाएको आधारहीन आरोपलाई दृढतापूर्वक अस्वीकार गर्छौं,’ उनले भने, ‘विश्वव्यापी आतंकवादको केन्द्रबिन्दु कहाँ छ भन्ने कुरा सम्पूर्ण संसारलाई थाहा छ। पाकिस्तानले आफ्नो आन्तरिक समस्या र असफलताको लागि औंला उठाउनु र अरूलाई दोष दिनुको सट्टा आफू भित्र हेर्नुपर्छ।’

चैत १, २०८१ शुक्रबार १२:०६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।