बयलकाँडा गढी : नेपाल एकीकरणअघिको सैनिक सेल्टर, संरक्षण र पुनर्निर्माण नहुँदा मासिने जोखिम

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको सिरानमा रहेको ऐतिहासिक बयलकाँडा गढी संरक्षण नहुँदा मासिने जोखिम बढेको छ।
वि.सं. १७९० सम्म बेलासपुर राज्यका सैनिकको सेल्टरका रूपमा रहेको वीरेन्द्रनगर नगरपालिका-१४ गोठीकाँडामा रहेको बयलकाँडा गढीमा स्थानीय र प्रदेश सरकारले चासो नदिँदा यसको ऐतिहासिक महत्त्व मासिने जोखिम बढेको हो।
ऐतिहासिक मात्र नभएर पर्यटनका दृष्टिकोणले पनि यो गढी सम्भावना बोकेको स्थान हो। नेपाल एकीकरण पश्चात सेनाहरूको आक्रमणमा परेर ध्वस्त भएको यो गढीको संरक्षणमा अहिलेसम्म पनि राज्यका निकायले चासो दिएका छैनन्।
यही गढीकै नामबाट साबिक गाउँ विकास समितिको नाम पनि गढी राखिएको थियो। गोठीकाँडा सुर्खेतको पुरानो सदरमुकाम समेत हो। अहिले सिङ्गो गाविस नै १४ नम्बर वडा बनेको छ। वडाको कार्यालय समेत यहीँ छ। तर गढी संरक्षणमा भने कसैको ध्यान गएको छैन।
गढीबाट वीरेन्द्रनगर उपत्यकासँगै बराहताल र दैलेखको गुराँस गाउँपालिकाका विभिन्न गाउँहरूलाई नियाल्न सकिन्छ। सूर्योदयदेखि सूर्यास्तसम्म बयलकाँडा गढीबाटै देख्न सकिन्छ। पाँच कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको यो गढी समुद्री सतहदेखि १५ सय २२ मिटर उचाइमा छ।
नेपाल एकीकरणका समयमा सुरक्षा र रणनीतिक दृष्टिकोणले निर्माण गरिएको बयलकाँडा गढीबाट पनि नेपालको इतिहासबारे धेरै अनुसन्धान गर्न सकिने नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष एवं ‘सुर्खेतको इतिवृत-२’ का लेखक सुशीलराज शर्मा बताउँछन्।
‘खस राज्यले सेनाको सेल्टरका रूपमा बनाएको इतिहास भेटिन्छ। १७९० सम्म पनि बेलासपुर राज्यका सैनिकको सेल्टरकै रूपमा थियो,’ उनले भने, ‘जब पछि बेलापुर राज्य र दुल्लु राज्यका शासकबीच मनमुटाव भयो अनि बहादुर शाहको नेतृत्वमा त्यसलाई ध्वस्त बनाएको पाइन्छ।’
स्थानीय सरकार बनेको सात वर्षसम्म यसले मूर्तरूपमा संरक्षण हुन नसकेको उनको गुनासो छ।
‘संरक्षणका लागि केही तारजाली लगाइएको छ। तर यसको गहिराईमा पुगेर अध्ययन हुन सकेको छैन। गढीको इतिहास काँक्रेबिहारसँग जोडिएको हुँदा त्यसलाई पुनर्निर्माण गर्नुपर्छ।’
गढीको वरिपरि ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोली हान्नका लागि बनाइएका पर्खालहरू समेत ३०-४० वर्षअघिसम्म देखिने गरेको गढी वरपर बसोबास गर्ने स्थानीय ६६ वर्षीय कविराज रोका मगर बताउँछन्।
‘३०-४० वर्ष अघिसम्म गढी वरिपरिका पर्खालामा गोली हान्ने प्वालहरू देखिन्थे। केही पूरा वस्तुका अवशेष समेत भेटिन्थे,’ उनले भने, ‘ अहिलेपनि यहाँ गढी हेर्नका लागि दैनिक सयौं मानिसहरू आउँछन्। तर, यसको पुनर्निर्माण सुरू नहुँदा समस्या परेको छ।’
वर्षौंदेखि गढीको पुनर्निर्माणको प्रतिक्षामा रहेका स्थानीय वीरेन्द्रनगर-१४ का वडाध्यक्ष देवबहादुर रोकाय पुनर्निर्माणका लागि आफूले पहल गरिहेको बताउँछन्। यहाँको पुनर्निर्माण भए स्थानीय पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेबारे आफू जानकार रहेको समेत उनको भनाइ छ।
उनी भन्छन्, ‘यो बयलकाँडा गढी हाम्रो पहिचान हो। यसको पुनर्निर्माणले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ। त्यसमा पुरातात्त्विक विभाग र सरकारले ध्यान दिन जरुरी छ। वडाले यसमा गर्नसक्ने केही छैन। संरक्षणका लागि पहल गरिरहेका छौँ।’
वडाअध्यक्ष रोकायका अनुसार केही वर्ष पहिले नेपाली सेनाको अगुवाइमा पृथ्वीनारायण शाहको सालिक र घेरबार गरिएको थियो। त्यसयता सेनासँग समन्वय गरेर पुरातात्त्विक विभागले अध्ययनको काम थालेको छ।
ऐतिहासिक गढीको पुनर्निर्माणमा सहयोग पुग्ने उद्देश्यले नेपाल पत्रकार महासंघ, सुर्खेतको चौथो पूर्ण बैठक यहाँ सम्पन्न गर्दै चार बुँदे ‘बयलकाँडा गढी घोषणापत्र’ समेत जारी गर्यो। घोषणापत्रमा ऐतिहासिक गढी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गरी पुनर्निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण गराउने उल्लेख छ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरपालिकाकी मेयर मोहनमाया ढकालले गढीको पुनर्निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको बताइन्।
‘बयलकाँडा गढी हाम्रो सांस्कृतिक सम्पदा हो, पर्यटकीय क्षेत्र हो। यसको संरक्षण र पुनर्निर्माणका लागि हामी प्रतिबद्ध छौं,’ उनले भनिन्, ‘पुरातात्त्विक विभागको काम अगाडि नबढेका कारण काम हुन सकेको छैन। सबै निकायसँग समन्वय गरेर आवश्यक बजेटको व्यवस्था गरेर पुनर्निर्माण गर्नेतर्फ ध्यान दिनेछौँ।’
नगरपालिकाका उप-मेयर निलकण्ठ खनालले पनि गढीको पुनर्निर्माणमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको बताए।
‘स्थानीयवासीको सक्रिय सहभागिता विना यस्तो परियोजना सफल हुन सक्दैन। हामी सबै मिलेर गढीको पुनर्निर्माण गर्नुपर्छ,’ उनले भने, ‘सडक विस्तारपछि अन्य संरचनाको काम गरेर गढीलाई सुर्खेतकै उत्कृष्ट पर्यटकिय क्षेत्र बनाइनेछ।’
चैत १, २०८१ शुक्रबार १०:०३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।