इन्स्टाग्राममा चिनजान, डिल्लीबजारमा भेट, डेरामा यौन सम्बन्ध अनि बलात्कारको मुद्दा

काठमाडौं : सामाजिक सञ्जाल इन्स्टाग्राममा चिनजान भएपछि १४ वर्षीया नाबालिकालाई डेरामा लगेर यौन सम्बन्ध राख्दा सन्दीप बोहराले नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका छन्।
पीडित पक्षले इच्छा विपरीत यौन सम्बन्ध राखेको दाबी गर्दै जाहेरी दिए पनि जाहेरीमा उल्लेखित विवरण र पीडितको बयानका आधारमा यौन सम्बन्ध सहमतिमै भएको देखिन्छ। तर नेपालको विद्यमान कानुनले नाबालिगको सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जवर्जस्ती करणी मान्ने भएकाले बोहोरा विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा समेत दायर भइसकेको छ।
बुधवार दायर जाहेरीमा उल्लेखित विवरण अनुसार १८ वर्षका सन्दीप र पीडित १४ वर्षकी किशोरीबीच लाइभमा देखेकोमा पछि इन्स्टाग्राम म्यासेन्जरमा कुराकानी सुरु भएको थियो। करिब एक महिना कुराकानी चलेपछि भ्यालेन्टाइन डेको दिन दुबैबीच भेट्ने सहमति भए अनुसार युवती डिल्लीबजारमा रहेको युवकको कोठामा आएकी थिइन्।
युवकले साथीहरूसँग फ्ल्याट सेयर गरेर बसेका थिए। उनीहरू बेलुका सँगै एकै कोठामा बसेको र यौन सम्बन्ध भएको दुवैको बयानमा देखिन्छ। युवकले सहमतिमै यौन सम्बन्ध भएको दाबी गरेका छन् भने किशोरीले इच्छाविपरित भनेकी छिन्।
इन्स्टाग्राममा चिनजानदेखि डेरासम्मको घटना
अभियोग पत्रअनुसार, २०८१ मंसिर २ गते दिउँसो करिब १२:०० बजे सन्दीपले इन्स्टाग्राम म्यासेन्जरमार्फत पीडितलाई ‘आज भेटौँ’ भनेर बोलाएका थिए। सन्दीपले पठाओ बाइक मगाएर उनलाई डिल्लीबजार आउन भनेका थिए। जब पीडित किशोरी डिल्लीबजार आइन्, सन्दीपले उनलाई घट्टेकुलोस्थित आफ्नै डेरामा लगे।
डेरामा पुगेपछि सन्दीपले ढोका लगाएर सुरुवातमा सामान्य कुराकानी गरे। किशोरीको बयान अनुसार पछि उनले जबरजस्ती चुम्बन गर्न खोजे। किशोरीले प्रतिकार गर्न खोज्दा उनले बलपूर्वक कपडा खोलेर जबरजस्ती करणी गरे।
पीडितको बयान अनुसार त्यसपछि, पीडित किशोरी घर जान खोज्दा सन्दीपले ‘तिम्रो दिदीलाई फोन गर, भन कि म साथीको घरमा छु’ भनेर दबाब दिए। किशोरीले घरमा फोन गरेर त्यही बताएपछि उनी रातभर सन्दीपकै डेरामा बसिन् र त्यो रात सन्दीपले उनलाई पटक–पटक जबरजस्ती करणी गरे।
घटनाको भोलिपल्ट, मंसिर ३ मा पीडित किशोरी बिहान आफ्नो घर फर्किन्। केही समयपछि, मंसिर ४ को बिहान करिब ५ बजे सन्दीपले फेरि फोन गरेर उनलाई भेट्न बोलाए। किशोरी ढिलै भए पनि बिहान ६ बजेतिर सन्दीपको डेरामा पुगिन्।
सुरुवातमा सामान्य कुरा भए पनि केही समयपछि सन्दीपले पुनः जबरजस्ती चुम्बन गर्न थाले। बयान अनुसार किशोरीले मानिनन्, तर सन्दीपले जबरजस्ती कपडा खोल्दै पुनः करणी गरे। बिहान करिब ११ बजे किशोरी सन्दीपको कोठाबाट फर्किन्।
उनी बाहिर बस्न थालेपछि घरमा कहाँ गएको भनेर सोधपुछ हुन थालेपछि किशोरीले आफन्तलाई घटनाबारे बताएको देखिन्छ। त्यसपछि, परिवारले उनलाई उजुरी दिन प्रहरी कार्यालय लिएर गए। बोहरा पक्राउ परे।
युवकको बयान र किशोरीको बयानबीचमा केही सामजस्यता देखिन्छ। किशोरीले कक्षा ९ मा पढ्ने ढाँटेर कक्षा १२ मा पढ्ने भनेर भनेको खुल्छ। तर उनको बयानमा उमेर खुल्दैन। अभियुक्तका अनुसार किशोरीले आफ्नो उमेर १८ वर्ष भनेकी थिइन्।
उनले नै भेट्न खोजेकाले डेरामा बोलाएको। प्रारम्भमा डेरामा सबै साथीहरूसँग बसेर फिल्म हेरेको तर उनले सबैसँग बसेर फिल्म हेर्न अप्ठ्यारो भयो भनेपछि दुवै जना कोठामा एक्लै बसेर फिल्म हेर्नेक्रममा उत्तेजना आएपछि सहमतिमै यौन सम्बन्ध राखेको अभियुक्तको दाबी।
पहिलो भेटमै इच्छा विपरीत करणी भएको अवस्थामा पुन दोस्रो दिन उसैगरी डेरामा आउने कारण देखिन्न। तर किशोरी आएकी छिन्। किशोरीले बयानमा बाहिर बसेपछि शङ्का गरेर घरमा सोध्न थालेपछि सम्बन्ध भनेको बताएकी छिन्। आफन्तले झोक्राउने गर्न थालेपछि सोध्दा घटना खुलेको दाबी गरेका छन्।
अदालतमा बुझाइएको अभियोग पत्रअनुसार, पीडितको स्वास्थ्य परीक्षण गर्दा उनको यौनाङ्गमा चोट देखिएको खुलेको छ। मेडिकल रिपोर्टले उनको हाइमन टियर भएको पुष्टि गरेको छ, जसले करणी भएको देखिन्छ।
यसबाहेक, अभियोग पत्रमा सन्दीप र पीडित किशोरीबीच इन्स्टाग्राम म्यासेन्जरमा भएको कुराकानीको प्रमाणसमेत पेस गरिएको छ।
सन्दीपले स्वेच्छाले शारीरिक सम्बन्धमा राखेको बयान दिए पनि कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरूसँग सहमतिमा भए पनि यौन सम्पर्क राखेमा ‘जबरजस्ती करणी’ मानिने भएकाले उनी विरुद्ध अभियोग पत्र दर्ता भएको छ।
नेपालको फौजदारी संहिता, २०७४ को दफा २१९ अनुसार १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेमा १२ देखि १४ वर्ष कैद सजायको प्रावधान छ।
त्यसैगरी, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६७ अनुसार बाल यौन दुर्व्यवहार गर्ने अपराधीलाई थप कडा कारबाही हुनसक्छ।
चैत १, २०८१ शुक्रबार ००:१३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।