५१ रनमै नेपाल अलआउट, युगान्डासँग ४० रनले पराजित

५१ रनमै नेपाल अलआउट, युगान्डासँग ४० रनले पराजित

काठमाडौं : युगान्डामा जारी वुमेन्स कप टी ट्वान्टी आई सिरिजमा नेपाल पराजित भयो। सिरिजको पाँचौँ खेलमा नेपाल चौथो पटक पराजित भएको हो। यसअघि सिरिजको पहिलो भेटमा नेपालले युगान्डालाई १ विकेटले हराएको थियो।

बिहीबारको खेलमा नेपाल घरेलु राष्ट्र युगान्डासँग ४० रनले पराजित भयो। युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टिम १७.१ ओभरमा ५१ रनमा अल आउट भयो।

नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा मात्र दोहोरो अंकमा रन बनाए। कविताले २७ बलमा १२ रन र कप्तान इन्दुले १२ बलमा ११ रन जोड्न सफल भइन्। नेपालका ५ खेलाडीले खाता नै खोल्न सकेनन्।

पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो। युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन र स्थर लियोक्वले २२ रन जोडिन्। नेपालका तर्फबाट रिया शर्माले २ विकेट लिँदा रुविना क्षेत्री, पूजा महतो र ईश्वरी विष्टले समान १-१ विकेट लिए।

सिरिजको अन्तिम लिग खेल शुक्रवार नेपाल र हङकङबीच हुनेछ।

फागुन २९, २०८१ बिहीबार २३:२०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।