डीएसपी हुँ भन्दै ७ लाख ८७ हजार ठगी गरेको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौं : नेपाल प्रहरीको डीएसपी हुँ र इन्टरपोलसम्बन्धी काम गर्दै आएको भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन्।
आफू प्रहरीको डीएसपी भएको, विभिन्न देशका उच्चपदस्थ मानिससँग सम्बन्ध रहेको भन्दै ती व्यक्तिले ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो।
उनको ठगीको जालोमा केदारप्रसाद पौडेल, शम्भुप्रसाद पौडेल, सुजन थापा, नारायणबहादुर राउत र फूलमाया कामी परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
फागुन २९, २०८१ बिहीबार ०८:३८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।