‘पूर्णबहादुरको सारंगी’ का निर्माता विनोदमाथि चन्दा आतंक, नेकपा विद्रोहीका दुई कार्यकर्ताविरुद्ध मुद्दा

‘पूर्णबहादुरको सारंगी’ का निर्माता विनोदमाथि चन्दा आतंक, नेकपा विद्रोहीका दुई कार्यकर्ताविरुद्ध मुद्दा

काठमाडौं  : करिब ७० करोड रुपैयाँको ग्रस कलेक्सन गरेको नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्माता विनोद पौडेललाई धम्क्याउँदै जबर्जस्ती चन्दा मागेको अभियोगमा दुई जना विरुद्ध मुद्दा दायर भएको छ।

पौडेलको कार्यालयमा गएर चन्दाको पत्र दिँदै नदिए जन कारबाही गर्ने भन्दै धम्क्याएको आरोपमा प्रहरीले भरतकुमार राईलाई पक्राउ गरेको थियो। अर्का लेखबहादुर तामाङ भने फरार छन्। उनीहरूले पौडेलको कार्यालयमा गएर नेकपा विद्रोहीको पत्र दिँदै चन्दा दिनु नत्र जन अदालतमा लगेर कार्वाही गर्ने भन्दै धम्क्याएका थिए।

पौडेलले आफूलाई धम्की दिएको भन्दै जाहेरी दिएपछि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान गर्दा चन्दा माग्न धम्क्याउँदै पठाएको पत्र लगायतका प्रमाण बरामद भएपछि अभियुक्त बनाएको हो।

बुधवार दायर अभियोग पत्रका अनुसार, अभियुक्त भरत कुमार राईले आफू नेपाल कम्युनिस्ट पार्टी (विद्रोही) का कार्यकर्ता भएको दाबी गर्दै पौडेललाई धम्क्याएका थिए। उनले फिल्मबाट आएको आम्दानीको एक हिस्सा पार्टीलाई चन्दा दिनुपर्ने माग गरेका थिए। यदि चन्दा नदिए ‘जन अदालत’ मा लगेर कारबाही गरिने चेतावनी दिइएको अभियोगमा उल्लेख छ।

प्रहरी अनुसन्धानमा राईको साथबाट विभिन्न दस्ताबेज, पार्टीका पत्र, चन्दा माग गर्दै लेखिएका कागजात, पर्चा-पम्प्लेट लगायतका सामग्री बरामद गरेको छ।

अभियुक्तहरूमाथि चन्दा ऐन २०३० को दफा ३ तथा मुलुकी अपराध संहिताको दफा ४४ बमोजिम कारबाहीको माग गरिएको छ।

फागुन २८, २०८१ बुधबार १८:५१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।