रुस सहमत भए युक्रेन ३० दिने युद्धविराम गर्न तयार, कब्जा भएका भूभाग नछोड्ने अडान

रुस सहमत भए युक्रेन ३० दिने युद्धविराम गर्न तयार, कब्जा भएका भूभाग नछोड्ने अडान

एजेन्सी : युक्रेन युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी र युक्रेनी अधिकारीहरूबीच बैठकपछि युक्रेनले अमेरिकाको ३० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको छ। यो कुरा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुष्टि गरेका छन्।

उनले भनेका छन्, ‘यो प्रस्ताव सकारात्मक कदम हो। युक्रेन यसलाई स्वीकार गर्न पूर्ण रूपमा तयार छ। अब यसका लागि रुसलाई मनाउनु अमेरिकाको जिम्मेवारी हो। मस्कोले सहमति जनाएपछि युद्धविराम तुरुन्तै लागू हुनेछ।’

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरेबियाको जेद्दामा भएको बैठकमा युक्रेनका धेरै सम्झौता प्रस्तावहरूबारे छलफल गरे।

यद्यपि, युक्रेनी अधिकारीहरू कब्जा गरिएको क्षेत्रको मुद्दामा कुनै पनि सम्झौताको लागि तयार देखिएनन्।

वास्तवमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्वी युक्रेनका चार ठूला क्षेत्रहरू (डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया) मा पूर्ण नियन्त्रण चाहन्छन्। रुसले पहिले नै युक्रेनको २० प्रतिशत भाग कब्जा गरिसकेको छ।

अमेरिका-युक्रेन वार्तामा युद्धविराम हवाई र समुद्री क्षेत्र बाहेक सम्पूर्ण युद्धभूमिमा लागू हुने, अमेरिकाले रुसलाई युद्धविराममा सहमत हुन मनाउने प्रयास गर्ने सम्झौता भएको छ। 

यसका अलावा युक्रेनले अमेरिकाबाट सैन्य सहयोग र गुप्तचर जानकारी आदानप्रदान प्राप्त गर्ने र दुर्लभ खनिज सम्झौता सकेसम्म चाँडो पूरा गर्न अमेरिका र युक्रेनबीच सम्झौता भएको छ।

फागुन २८, २०८१ बुधबार ०७:१०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।