संसदको मञ्चबाट प्रचण्डको दुई प्रहार, पूर्व राजालाई ठाउँमा बस्न चेतावनी, सरकारलाई सडकबाट ठिक पार्ने धम्की

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधि सभाबाट पूर्व राजा अनि सत्ताधारी दल दुबैलाई चेतावनी दिए। प्रतिनिधि सभामा बोल्दै उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई गणतन्त्र उल्ट्याउने षड्यन्त्रमा नलाग्न चेतावनी दिए भने सरकारलाई निरङ्कुश नहुन चेतावनी दिए।
उनले गणतन्त्रको उपलब्धिहरू गुम्ने खतरा बढ्दै गएको र सरकारको कुशासनले जनतामा असन्तोष बढाएको दाबी गरे।
जनताको असन्तोष उच्च विन्दुमा
प्रचण्डले आठ महिनाअघि माइतीघर मण्डला सुनसान रहेको तर अहिले विभिन्न वर्ग र समुदाय आन्दोलित रहेको भन्दै आम नागरिकमा असन्तोष उच्च रहेको बताए। अहिले मिटरब्याज पीडितको आत्महत्या प्रयास, गुठी पीडितको सङ्घर्ष, लघुवित्त पीडितका समस्या, सहकारी ठगी, शिक्षण संस्थाहरूको हड़ताल, कृषकहरूको मर्माहत अवस्था, दलित र महिलाको आन्दोलन जारी रहेको उनले बताए।
यी सबै सरकारको बेथितिप्रति जनताको आक्रोश झल्काउने घटना भएको भन्दै उनले प्रश्न गरे, ‘के सरकारले जनतासँग संवाद गर्ने सामर्थ्य गुमाएको हो, कि सरकार नै जनतालाई उपेक्षा गर्न चाहन्छ?’
राजतन्त्रको पुनर्स्थापना प्रयासप्रति चेतावनी
पछिल्लो समय राजावादी गतिविधिहरू बढेको भन्दै उनले परिवर्तनको विरोधमा नलाग्न चेतावनी दिए।
‘हिजो बन्द कोठामा समेत डराउँदै राजतन्त्रको सपना देख्नेहरू आज सडकमा नारा लगाउन थालेका छन्’उनले भने।
इतिहासमा पटक-पटक यस्ता षड्यन्त्रहरू भएको तर पछिल्ला आठ महिनाको सत्ताको चरित्रकै कारण राजावादीहरू उत्साहित भएको उनको दाबी थियो।
उनले गणतन्त्रलाई रक्तपातविहीन रूपमा स्थापना गरिएको र नेपालमा राजतन्त्रको पुनरागमन कल्पना पनि गर्न नसकिने बताए।
‘हिजो राजा हुँदा गणतन्त्रको माग गर्दा टाउकोको मोल तोकिन्थ्यो, तर आज राजावादीहरू सम्मानित संसद्मा छन्। लोकतन्त्रकै कारण उनीहरूलाई बोल्ने अवसर दिइएको हो, तर संविधान र लोकतान्त्रिक मूल्यहरूको उल्लङ्घन भयो भने, क्रान्तिले फेरि शक्ति देखाउनेछ’ उनले भने।
सरकारको गैरजिम्मेवारीपन र प्रतिगमनकारी शैली
उनले सत्तारूढ दललाई लोकतान्त्रिक मूल्यहरूको निरन्तर अवहेलनामा संलग्न भएको आरोप लगाए। प्रमुख प्रतिपक्षी नेताको संसद्मा सम्बोधन गर्दा प्रधानमन्त्रीको अनुपस्थितिलाई सङ्केत गर्दै उनले सरकारले प्रतिगमनकारी नीति अवलम्बन गरेको दाबी गरे।
सङ्घीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण विधेयकहरू अलपत्र पारिएको, तर बिचौलियाहरूको हितमा अध्यादेशहरू ल्याइएको भन्दै उनले सरकारको नीति निर्माण प्रक्रियामाथि प्रश्न उठाए।
‘सङ्घीय निजामती विधेयक, विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण कानून किन थन्क्याइएका छन्? सरकार सङ्घीयतालाई असफल बनाउने षड्यन्त्रमा लागेको हो?’ उनले भने।
यदि सत्ताधारीहरूले अराजकता कायम राखे भने जनताले विकल्प खोज्ने बताउँदै उनले भने ‘आज सरकारको दुई-तिहाइको घोडा बिचौलियाले दौडाइरहेका छन्। हिजो सरकार परिवर्तन गर्ने शक्ति उनीहरूसँग थियो, अब उनीहरूले नै सरकारलाई विचलित पार्नेछन्।’
उनले लोकतान्त्रिक शक्तिहरूलाई सचेत रहन आह्वान गर्दै भने, ‘यो समय सरकारको विरोध मात्र गर्ने होइन, प्रतिगमनकारी शक्तिहरूलाई समेत परास्त गर्न व्यापक रणनीति बनाउन जरुरी छ।’
देशको सङ्घीय लोकतान्त्रिक व्यवस्था सङ्कटमा परेको सङ्केत गर्दै उनले सरकारलाई अन्तिम चेतावनी दिए, ‘जनताको बलिदानको उपहास सह्य हुँदैन। यदि सरकार सुध्रिएन भने, सडकबाटै परिवर्तनको नयाँ युग सुरु हुनेछ।’
फागुन २७, २०८१ मंगलबार २१:३६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।