उप सभामुखलाई सांसदको नामै उच्चारण गर्न आएन,पटक-पटक गलत नाम भनिरहिन्

उप सभामुखलाई सांसदको नामै उच्चारण गर्न आएन,पटक-पटक गलत नाम भनिरहिन्

काठमाडौं : मंगलबार प्रतिनिधि सभाको बैठकमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रालयले गरेको कामबारे सांसदहरूलाई जानकारी दिन रोस्टममा उभिए। उनले अहिले मन्त्रालयले चलाइरहेको विभिन्न खोप लगायतका कामबारे जानकारी दिए।

उनको जानकारीपछि मन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदहरूका लागि समय तोकियो। उप- सभामुख इन्दिरा रानाले प्रश्न सोध्न चाहने सांसदहरूले कर्मचारीहरूलाई नाम टिपाउन पाँच मिनेटको समय दिइन्। अनि एक मिनेटमा प्रश्न सोध्न भनिन्।

उनले कसैको नाम आयो कि भनेर संसद्को कर्मचारीहरू भएको डेस्कतिर हेरिरहिन। हतारमा नाम मागिन्। अनि नाम टिपाउने सांसदको नाम भनिन् ‘ सर्वप्रथम माननीय छिरिङ डम्लोन तामाङ।’

तर त्यो नाम भएको सांसद कोही थिएन। नामै गलत भएको कर्मचारीले भनेपछि उप सभामुख रानाले ‘ला, हो’ भनिन्। माइक काटिएको थिएन। सबै सुनियो। अनि उनले माइक अफ गरिन्।

उताबाट महिला कर्मचारीको आवाज आयो ‘नाम फेरी भनिस्यो न।’

उपसभामुखले फेरि बोल्न खोजिन्। तर माइक अन भएकै थिएन। उनले माइक अन गरेर फेरी सांसदको नाम भनिन् ‘ माननीय छिरिङ डन्डोल लामु।’ त्यो नाम फेरि शुद्ध थिएन।

कुनै पुरुष हाँसेको आवाज सुनियो। कर्मचारीले ‘होइन के नाम’ भनेको आवाज आइरहेको थियो।

अनि एक जना सांसद उभिएर भनिन् ‘सभामुख महोदय, मेरो नाम छिरिङ ल्हामु लामा हो। डम्डुल चैँ अर्को माननीय हुनुहुन्छ।’

उपसभामुख राना मुसुक्क हाँसेर बसिरहिन्। उनले पून सोधिन् ‘मेरो पालो हो नि।’

उपसभामुखले ‘हजुरकै पालो हो। नाम नै रङ आएकाले’ भनिन्। अनि छिरिङ ल्हामु लामाले आफ्नो प्रश्न सोधिन्।

छिरिङ माओवादी केन्द्रबाट जुम्लाबाट समानुपातिक सूचीबाट पहिलो पटक प्रतिनिधि सभाको सांसद भएकी हुन्। उनी मुगाली समुदायको पहिलो सांसद समेत हुन्।

फागुन २७, २०८१ मंगलबार १८:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।