नेहा-सत्यन्द्रको घटनाबारे गृहमन्त्रीले भने ‘घटनाबारे छानबिन गराउँछु’

नेहा-सत्यन्द्रको घटनाबारे गृहमन्त्रीले भने ‘घटनाबारे छानबिन गराउँछु’

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले नेहा रौनियार र सत्यन्द्र कुमार  रामको घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्। अन्तर्जातीय विवाह छुटाउन गृहमन्त्री लेखकले आफ्नो शक्तिको दुरुपयोग गरेर दुख दिएको आरोपमाथि बोल्दै उनले मंगलबार प्रतिनिधि सभामा यस विषयमा कहिकतै त्रुटि भएको भए छानबिन गरेर कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन्।

नेहा र सत्यन्द्रबीच अन्तर्जातीय विवाह भएपछि नेहाको परिवारको प्रभावको आधारमा उनीहरूलाई छुटाउने प्रयास गरेको, भारत गएका उनीहरूलाई लिन गोप्य रूपमा प्रहरी नै परिचालन गरिएको, प्रहरीले जाहेरी दर्ता गरेर पक्राउ गरेर थुन्ने षड्यन्त्र गरेको घटना सार्वजनिक भएको थियो। यसमा गृहमन्त्री लेखक समेत जोडिएका थिए।

उनले सो घटनाबारे आफू र गृह मन्त्रालय अन्त्यतिर संवेदनशील रहेको र छुवाछुतको अन्त्यका लागि मन्त्रालय क्रियाशील रहेको दाबी गर्दै भने ‘म कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरोधमा छु।’

उनले आफू अन्तर्जातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो विचारको अवमूल्यन रहेको दाबी गर्दै अन्तर्जातीय विवाहलाई कानुनले नै मान्यता दिएको र यस्ता विवाहलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए।

‘मेरो निर्देशनमा अत्याचार भयो भन्नु कपोलकल्पित भएको र यसबारे प्रस्ट पारिसकेको छु’ उनले भने।

उनले पीडितको गुनासो सम्बोधन र सुरक्षा दिन मन्त्रालय प्रतिबद्ध रहेको भन्दै नेहा र सत्यन्द्रको सुरक्षाको प्रत्याभूति गर्ने वचन दिए।

फागुन २७, २०८१ मंगलबार १७:४१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।