सरकारलाई गगनको सुझाव : नचाहिने ठाउँमा हात हालेर टाउको नदुखाउनु, कानुन पालनामा मेरो र तेरो हेरेर व्यवहार नहोस्’

सरकारलाई गगनको सुझाव : नचाहिने ठाउँमा हात हालेर टाउको नदुखाउनु, कानुन पालनामा मेरो र तेरो हेरेर व्यवहार नहोस्’

काठमाडौं : प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको विश्वास आर्जन गर्नेगरी काम गर्न सरकारलाई सुझाव दिए। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अब पारदर्शिता नभई जनताको विश्वास जित्न सम्भव नहुने बताए।

उनले विश्वास आर्जन गर्ने हो भने पारदर्शिता, न्यायपूर्ण व्यवहार र बृहत्तर सार्वजनिक हितलाई प्राथमिकता दिन सुझाव दिए।

‘ट्रस्ट अर्न गर्ने सन्दर्भमा दुइटा/तीन वटा कुरामा सरकारको ध्यान जानै पर्छ,’ थापाले भने, ‘जुन कुरा प्रधानमन्त्रीलाई एक्लै भेट्दा भनेको छु, राजनीतिक दलका नेताहरूसँगै भेट्दा पनि भनेको छु।’

उनले कुनै एउटा व्यक्ति वा समूहको लाभका लागि नभई, समग्र जनहितलाई ध्यानमा राखेर कानुन बनाउन सुझाव दिए।

पछिल्लो समय सरकारले महत्त्वपूर्ण स्थानमा गर्ने हरेक नियुक्ति विवादित बन्दै आएको छ। धितो पत्र बोर्ड, बीमा प्राधिकरण हुँदै पछिल्लो समय स्वास्थ्य सचिवको नियुक्तिको निर्णयसम्म विवादमा परेको छ। नियुक्ति क्षमताको आधारमा भन्दा पनि व्यक्ति र समूह केन्द्रित स्वार्थमा हुने गरेको देखिन्छ।

‘हामी गर्भनरका नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौँ। आइजिपीको नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौँ। को व्यक्ति भयो, को व्यक्ति भएन? यति सानो नेपाल छ सबैले थाहा पाउँछ,’ थापाले सरकारले गरिरहेको नियुक्तिको निर्णयबारे भने।

पछिल्लो समय प्रहरी अनि महान्यायाधिवक्ता कार्यालयबाट भइरहेको अनुसन्धान र न्याय सम्पादन समेत प्रश्नको घेरामा परिरहेको छ। सत्ताधारी दल निकटहरू गम्भीर अपराधमा जोडिदा पनि कि मुद्दा नचल्ने निर्णय भइरहेका छन् कि उनीहरूलाई जोगाउने प्रयत्न भइरहेका छन्।

यसले कानुन भनेको सत्ता बाहिर रहेकाहरूका लागि मात्र हो भन्ने सन्देश गइरहेको छ। गगनले यसमाथि पनि प्रश्न उठाए।

‘मेरो, तेरो, यो दलको, यो झन्डा बोक्ने, मेरो पार्टीको, यो त्यो नहेरीकन निर्मम भएर कानुन सबको लागि बराबर छ भन्ने कुरालाई स्थापित गराउनैपर्छ।’

पछिल्लो समय विदेश जाने क्रम बढेकोमा समेत आलोचना हुने गरेको छ। शिक्षादेखि रोजगारको अवसरसम्ममा सरकार चुक्दा कलिलै उमेरकाहरु शिक्षा र रोजगारका लागि विदेशिनेक्रम बढेको छ। गगनले यसलाई सम्बोधन गर्दै सरकार सुझाव दिए ‘नेपालभित्रै काम गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्ने छ। नेपालभित्र काम गर्दै गरेका नौजवानहरूलाई हौसाउनुपर्ने वातावरण बनाउनुपर्नेछ।’

अनावश्यक क्षेत्रमा हस्तक्षेप नगर्न, नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको कपाल बाँधेर दुखाउने भनेको जस्तो नगर्न समेत उनले सुझाव दिए।

फागुन २७, २०८१ मंगलबार १६:२२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।