हुकुमी शैलीमा देश चलाउँछु भन्ने सपना नदेख्न पूर्वराजालाई एमालेको चेतावनी

काठमाडौं : सत्ताधारी दल एमालेले हुकुमी शैलीमा देश चलाउँछु भन्ने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकको आकिस्मक समयमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र र निरङ्कुशतन्त्र हुन नसक्दै भन्दै हुकुमी शैलीमा देश चलाउँछु भन्ने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका हुन्।
‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोतकन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन सक्दैन,’ उनले भने, ‘संग्रहालयमा थन्किएको राजनन्तलाई फेरि पनि हुकुमका शैलीमा देश चलाउँछु भन्ने सपना साकार हुँदैन।’
ज्ञानेन्द्रको नामबाट, उक्साहट र निर्देशनमा पञ्चायतकालीन राष्ट्रिय गानहरु गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने लगायतका संविधान विपरीतका गतिविधिहरू भइरहेको भन्दै उनले सरकारले यसलाई नोटिसमा राख्न समेत आग्रह गरे।
‘यी कामहरु गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयंले उक्साइरहेका छन्, उनको आफ्नो उपस्थितिमा यी सबै कामहरु गरिरहेका छन्,’ उनले थपे, ‘यतिमात्र होइन, केही र्यालीहरुमा भारतीय जनता पार्टीका नेताको ब्यानर र पोस्टर समेत देखियो। यो राष्ट्रहित प्रतिकुलको कार्य हो।’
पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन समेत उनले माग गरे।
फागुन २७, २०८१ मंगलबार १३:३६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।