प्रधानमन्त्री कप क्रिकेटमा मधेशद्वारा कोशीलाई २८५ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेटमा  मधेशद्वारा कोशीलाई २८५ रनको लक्ष्य

भैरहवा : भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा कप्तान अनिल शाह, पवन सर्राफ र दिपेश दासको दमदार ब्याटिङ्गमा मधेश प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ्ग रोजेको मधेशले निर्धारित ५० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा २८४ रन बनाएको हो। ओपनर अनिल साहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए।

सुरुदेखि बलियो देखिएको मधेशलाई हरिशंकर साहले राम्रै साथ दिए। प्रकाश कार्कीको बलमा उनले २९ रन जोडे। विकेट किपर रोशन बिक शून्य रनमा आउट भएपछि पवन सर्राफ र दिपेश दासले थप रन जोडे।

पवनले ८५ बलको सामना गर्दै २ छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए। त्यसैगरी दिपेश दासले ६० बलको सामना गर्दै १ छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान गरे।

बलिङ्गमा कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले समान २/२ विकेट र फिरदोस अन्सारी तथा दिपेश कँडेलले १ विकेट लिए।

फागुन २७, २०८१ मंगलबार १३:००:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।