वीर अस्पतालको निर्देशकमा दशौं तहका डा. दिलिप शर्मा नियुक्त

वीर अस्पतालको निर्देशकमा दशौं तहका डा. दिलिप शर्मा नियुक्त

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा दशौं तहका चिकित्सक डा. दिलीप शर्मालाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा  डा. शर्मालाई उक्त पदमा नियुक्त गरेका हुन्।

‘मैले निर्देशक नियुक्तिको पत्र पाएँ’, नवनियुक्त निर्देशक शर्माले उकेरासँग भने।

नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा दशौं तहका कर्मचारी हुन्। उनीसँगै डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम निर्देशकको लागि सिफारिस भएका थिए।

स्वीकृत दरबन्दीको प्रावधान अनुसार १२औँ तहका कर्मचारी (स्वास्थ्यकर्मी तथा चिकित्सक) नै वीर अस्पतालको निर्देशक बन्नु पर्ने हो।

तर, यस अघि पनि वीर अस्पतालमा दशौँ तहकै निर्देशक थिए, डा. सन्तोष पौडेल। डा. पौडेलको दुई वर्षे कार्यकाल फागुन ५ मा सकियो। त्यसपछि डा. गौतमले निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए।

अहिले १२औं तहमा सचिवको प्रतिस्पर्धा गरेर असफल भएका डा संगीता कौशल मिश्रा र डा टंक बाराकोटी छन्। मन्त्रालयले चाहेमा १२औं तहको दरबन्दी रहेको स्थानमा सोही तहको चिकित्सकलाई सिधै नियुक्त गरेर पठाउन सक्थ्यो। तर, त्यसो भएन।

फागुन २७, २०८१ मंगलबार १२:५०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।