अम्पायरको विवादास्पद निर्णयले ९२ रनमा समेटिए पवन, भुइँमा छोएको बल सोहोर्दा पनि आउट

अम्पायरको विवादास्पद निर्णयले ९२ रनमा समेटिए पवन, भुइँमा छोएको बल सोहोर्दा पनि आउट

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा अम्पायरले विवादास्पद निर्णय गरेका छन्।

९२ रन बनाएर खेलिरहेका पवन सर्राफलाई आउट दिने क्रममा अम्पायर विनय कुमार झाले विवादास्पद निर्णय गरेका हुन्। प्रतियोगिताको सातौं खेलमा मधेश प्रदेशले आज कोशी प्रदेशविरुद्ध खेल्दैछ।

४९औं ओभरको दोस्रो बलमा कोशी प्रदेशका विपिन महतोले अपिल गरेपछि अम्पायर झाले अर्का अम्पायर राम पाण्डेसँग सल्लाह गरेर पवनलाई आउट दिएका हुन्।

भएको के हो?
४९औं ओभरको दोस्रो बलमा बलर विपिन महतोले बलिङ गर्छन्। स्ट्राइकमा हुन्छन् पवन सर्राफ। उनी व्यक्तिगत ९२ रनको स्कोर बनाएर खेलिरहेका हुन्छन्।

महतोको बलिङ गर्दा ब्याटको इनसाइड एजमा लागेर बल विकेट किपर छिराङ शाहले क्याच गर्छन्। एकछिन मौन रहेका अनफिल्ड अम्पायर विनयकुमार झाले अर्का अनफिल्ड अम्पायर राम पाण्डेसँग छलफल गर्छन् र आउछ दिन्छन्।

तर, कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको खेलको रिप्लेमा भने बल पहिला जमिनमा गएर ठोकिएर मात्र विकेटकिपरको क्याच भएको स्पष्ट देखिन्छ। कमेन्टेटरहरूले पनि त्यो बल भुइँमा ठोक्किसकेको बताएका छन्।

प्रधानमन्त्री कपमा थर्ड अम्पायरको व्यवस्था नहुँदा भिडियो फुजेटलाई आधार मानिँदैन। यहाँ अम्पायरको डिसिजन नै अन्तिम डिसिजन हुने गर्छ।

फागुन २७, २०८१ मंगलबार १२:३६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।