युक्रेनले शान्ति चाहने हो भने २०१४ पछि रुसले कब्जा गरेको भूभाग छोड्नुपर्छ : अमेरिका

युक्रेनले शान्ति चाहने हो भने २०१४ पछि रुसले कब्जा गरेको भूभाग छोड्नुपर्छ : अमेरिका

एजेन्सी : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनलाई युद्ध समाधान गर्न आफ्नो भूभाग त्याग्न आह्वान गरेका छन्।

रुबियोले सोमबार युक्रेनले २०१४ देखि रूसले कब्जा गरेको क्षेत्र छोड्नुपर्ने बताएका हुन्।

‘मलाई लाग्छ दुवै पक्षले यो द्वन्द्वको कुनै सैन्य समाधान छैन भन्ने कुरा बुझ्नु आवश्यक छ,’ उनले भने, ‘रुसले सम्पूर्ण युक्रेन कब्जा गर्न सक्दैन र युक्रेनको लागि रुसलाई २०१४ अघिको अवस्थामा फर्काउन अत्यन्तै गाह्रो हुनेछ।’

रुबियोले रुस र युक्रेनलाई कडा निर्णय लिन तयार रहन आह्वान गरे। रुबियो रुस र युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न अहिले साउदी अरबमा छन्। त्यहाँ उनले युक्रेनका वरिष्ठ अधिकारीहरूसँग भेट्ने कार्यक्रम छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सोमबार साउदी अरब पुगेका छन्। यद्यपि, जेलेन्स्की अमेरिकी विदेशमन्त्री रुबियोसँगको बैठकमा उपस्थित हुने छैनन्। यस बैठकमा उनको टोली उपस्थित हुनेछ।

न्यूयोर्क टाइम्सका अनुसार यो भेटघाटको उद्देश्य फेब्रुअरी २७ मा ट्रम्प र जेलेन्स्कीबीच भएको चर्को बहसको क्षतिपूर्ति गर्नु हो। युक्रेनलाई प्रदान गरिएको अमेरिकी सैन्य सहायता र गुप्तचरको बारेमा पनि छलफल हुनेछ।

फागुन २७, २०८१ मंगलबार १२:०७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।