गणतन्त्रको वकालत गर्नेले उत्तर दिने विषय खै?

नारायणहिटी दरबारको मुख्य हलको रातो कुर्सी। टेलिभिजनका बुमले भरिएको टेबल। सेतो दौरा सुरुवालमा कोट र ढाकाको टोपी लगाएका ज्ञानेन्द्र शाह। यो राष्ट्रिय हैन, अन्तर्राष्ट्रिय मिडियाकै लागि हट न्युजको पल थियो।
ज्ञानेन्द्रले करिब १५ मिनेट लगाएर लिखित सम्बोधन गरे अनि ‘जय नेपाल’ भनेर सम्बोधन टुंग्याएर हिँडे।
नारायणहिटी हत्याकाण्डपछि बदलिएको परिस्थितिमा उनी २०५८ जेठ २२ मा राजाका रूपमा नारायणहिटी प्रवेश गरे, २०६५ जेठ २९ मा पूर्व राजाको रूपमा नारायणहिटीबाट बाहिरिए।
१ सय ३५ वर्ष शाह वंशले देशको शासन चलाएको नारायणहिटी अहिले संग्रहालय बनिसकेको छ। श्रीपेच त्यही संग्रहालयको एक कक्षको सीसाभित्र छ।
तर, एक समूह भने संग्रहालय बनिसकेको त्यही नारायणहिटीमा पुन: ज्ञानेन्द्रलाई भित्र्याउन सकिन्छ भन्ने आत्मविश्वासमा देखियो।
०००
एकातिर माओवादी सशस्त्र द्वन्द्वको प्रभाव, अर्कोतिर एकाएक दरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रसहित उनको वंश नै नास हुनुको झट्का। संयोग, त्यही घटनामा ज्ञानेन्द्रसहित उनको परिवारका सबै सदस्य जोगिए।
ज्ञानेन्द्र त वीरेन्द्रकालमै बदनाम थिए। कहिले गाडीले हानेर गायकको हत्या गर्ने त कहिले डिस्कोमा गएर गोली पड्काएर पारस त झन् बदनाम। त्यही पृष्ठभूमिले दरबार हत्याकाण्डमा ज्ञानेन्द्र परिवार नै नागरिक शंकामा पर्यो।
दरबार हत्याकाण्डको छानबिन समिति, घटनाको प्रत्यक्षदर्शी लगायतकाले घटनाको मुख्य दोषी तत्कालीन युवराज दीपेन्द्र नभनेका हैनन्, तर कसले पत्याउने? योजनाकारमा दरीय ज्ञानेन्द्र।
बाँचेकामध्ये राजगद्दीको उत्तराधिकारी उनी नै। अचेत अवस्थामै दीपेन्द्र मृत घोषित भएपछि ज्ञानेन्द्र नै राजा घोषित भए। राजमुकुट लगाएर नारायणहिटी गए।
०००
माओवादी सशस्त्र द्वन्द्व जारी नै थियो। उता सर्वसाधारणको मनमा ज्ञानेन्द्रको छवि वीरेन्द्रको हत्याराकै रूपमा बसेको थियो। धन्न संसदीय अभ्यासमा संलग्न नेपाली कांग्रेस, एमाले लगायतका दलले उनलाई राजा स्वीकारे।
दलहरूसँग पनि उनले खटपट शुरू गरे। गिरिजाप्रसाद कोइरालाविरुद्ध देउवा खेलाउँदै संसद विघटनको चरणमा पुर्याए। एकाएक २०६१ माघ १९ मा शाही सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा प्रत्यक्ष शासन शुरू गरेर साथ दिइरहेका दललाई पनि बैरी बनाए।
भन्नलाई गणतन्त्रको जश माओवादीले आफूले शुरू गरेको सशस्त्र द्वन्द्वलाई दिन्छ। गणतन्त्रको चेतना बढाउन कुनै न कुनै रूपमा माओवादी सशस्त्र संघर्षको भूमिका नभएको हैन। तर, राजतन्त्रको समापन र गणतन्त्रको बिजारोपणको दिन माघ १९ नै हो। गणतन्त्र आउनुको मुल कारण ज्ञानेन्द्रको प्रत्यक्ष शासन नै हो।
एकातिर माओवादी द्वन्द्वले कमजोर बनेको सुरक्षा संयन्त्र। अर्कोतिर न जनताको मनमा विश्वास, न दलका नेताहरूको साथ। अन्तमा जनआन्दोलन चर्कियो। उनी विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना गर्न बाध्य भए।
माओवादीसहितको संविधान सभा बन्यो। २०६५ जेठ १५ को संविधान सभाको पहिलो बैठकले राजाका सबै अधिकार कटौती गरेको घोषणा गर्यो। नारायणहिटी दरबार राष्ट्रियकरण भयो। देशमा गणतन्त्र आयो।
अनि ‘मैले देश छाडेर जाने सोच बनाएको छैन’ भनेर ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिए। अहिलेसम्म बाहिरै छन्।
नारायणहिटी फर्किने आश
अन्य देशको अवस्था हेर्दा अन्त्य भइसकेको राजतन्त्र नफर्किएका हैनन्। तर, नेपालको सन्दर्भमा सम्भव देखिन्न। त्यसको सबैभन्दा बलियो कारण स्वयं ज्ञानेन्द्र अनि उनको उत्तराधिकारीको सार्वजनिक छवि अनि उनलाई पुन: राजगद्दीमा राख्न पहिलो लहरमा देखिने अनुहार नै हो।
त्यसैले त १६ वर्षसम्म उनले निरन्तर राजसंस्थाको पक्षमा वकालत गरिरहे पनि माहौल सकारात्मक बन्न सकेको छैन। राप्रपा अनि राप्रपा नेपालसँगै हिन्दुवादी संगठनले उनलाई सक्रिय गराउने प्रयास गरिरहेका छन्। तर, राजतन्त्र पुनर्स्थापना हुनेगरी माहौल बनेको छैन।
तर,
२०८१ फागुन २५ मा तस्बिर केही बदलिएकै हो। टिकटक भिडियो बनाउन गए वा ‘खै हेरिहालौँ न त’ भनेर गएका हुन्, संख्या त बढेकै हो।
नियोजित होस् या स्वत:स्फूर्त हिजो ‘ज्ञाने चोर देश छोड’ भनेर लाग्ने नारा त बदलिएकै हो। राजतन्त्रका पक्षधरको मनोबल हल्का बढेकै हो। गणतन्त्रवादीको मनमा हल्का चिसो पसेकै हो।
अनि यो माहौल बनाउने काम गर्यो २०८१ फागुन ७ को प्रजातन्त्र दिवसमा आएको ज्ञानेन्द्रको १० मिनेटको सन्देशले। हरेक प्रजातन्त्र दिवसमा उनले वक्तव्य जारी गर्थे। त्यो दिन भिडियो सन्देश जारी गरेर आफूलाई ‘साथ दिन’ आह्वान गरे।
उनले भनेका थिए, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ।’
उनको अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरूले आलोचना गरे। सक्रिय हुन नखोज्नु भन्दै चेतावनी समेत दिए। त्यसले नकारात्मक हैन, राजतन्त्रको पक्षमा हल्का सकारात्मकै माहौल बनायो। राजतन्त्र पक्षधरहरू एकाएक हौसिए।
दलका नेताहरूले चेतावनी दिइरहेकै बेलामा एकाएक उनी माघ २७ मा दुई साता लामो बसाइका लागि पोखरा गए। पोखरामा सर्वसाधारणहरूसँग भेटघाट गरे। पोखराको भीडले काठमाडौंमा प्रभाव पार्यो।
उनी फागुन २५ गते काठमाडौं फर्कँदै थिए। काठमाडौं फर्कँदा भव्य स्वागत गर्ने तयारीमा जुट्यो एक समूह। पहिला अलग-अलग हुने समूह यो पटक मिसिए।
धार्मिक आवरणका बदनाम अनुहारसँगै हिजो राजाकै पक्षमा आन्दोलन गर्दा दुर्गा प्रसाईंलाई ‘त्यो ठग’ भन्ने राजेन्द्र लिङ्देन अन्तमा उनीसँगै मोटरसाइकल र्यालीमा सहभागी भए।
अब पोखराबाट सिधै नारायणहिटी जस्तो माहौल बनाउने प्रयास भयो। साँढे तीन बजे ज्ञानेन्द्र विमानस्थल ओर्लिए। गोल्डेनगेटदेखि नै उनको स्वागतमा भेला भएको समूहसँगै मिसिए।
गाडीको छत खोलेर उभिए। हात हल्लाएर अभिभावदन गरे, माला लिए, हात मिलाए। फुल दिए। म बदलिए नि भन्ने देखाउन गर्न सक्नेजति सबै गरे। तर, नारायणहिटी हैन निर्मल निवास गए।
फागुन २५ को दृश्य सामान्य भने हैन। वास्तविकता यही हो। राजतन्त्र पक्षधरहरूको बढ्दो मनोबल देखाउने गतिलो दृश्य हो। दृश्यले तत्काल राजतन्त्र फर्काउन सक्ने ह्याउ छैन भन्ने त देखायो। तर, गणतन्त्रवादीहरूको मुटु चिसो त बनायो।
०००
कुनै दल वा नेता वा बन्दुकको डरको भरमा आम नागरिक गणतन्त्रको पक्षमा उभिएका थिएनन्। उनीहरूले गणतन्त्रलाई साथ दिनुको अर्थ लोकतान्त्रिक प्रणालीको शासन व्यवस्था थियो। जहाँ नागरिक अधिकार, मानव अधिकार कायम हुन्छ, समाज समानतामुलक बन्छ। वंशकै आधारमा शासन गर्ने प्रथा हट्छ भनेर नै हो।
त्यसैले त ‘गणतन्त्र किन?’ भन्ने प्रश्नमा फरर उत्तर आउँथे ‘नागरिक अधिकारको उपभोग, स्वतन्त्रता, एउटा कोखमा जन्मिएकै योग्यताको आधारमा शासक बन्ने सामन्ती व्यवस्थाको अन्त्य, आम नेपाली नागरिकको सन्तान पनि राष्ट्र प्रमुख हुने व्यवस्थाका लागि।’
कसलाई नेतृत्वमा पठाउने त्यसको निर्णय कोखले हैन, मतदाताले गर्न पाउँछन्। राज्यस्रोतमाथि कुनै एक समूहको लुटको अन्त्य हुन्छ भन्ने चोक-चोकमा सुनियो।
हिजो राजतन्त्र भयो भने त गायक प्रवीण गुरुङ मार्दा पनि पारसलाई कारबाही नभए जस्तै हामी मारिँदा पनि कारबाही हुन्न भनिन्थ्यो। अब आज गम्भीर अपराधमा जोडिएका कृष्णबहादुर महरा, आरजु राणाहरू अनुसन्धानबाटै जोगिएकै छन्। अझ मन्त्री पद किस्तीमै उपहार पाएका छन्।
हिजो ज्ञानेन्द्रले त मुर्ति चोर्छन् भनेर राजतन्त्रको विपक्षमा जनमत बनाउने काम भएकै हो। आज पशुपतिनाथको जलहरीको सुनै हराउन थाल्यो।
हिजो दरबारले आफू निकटकालाई सयौँ रोपनी जग्गा बक्सिस दिन्थे। आज नेताहरूले आफू निकट व्यापारीलाई उसैगरी गिरिबन्धुको जग्गा बक्सिस दिने काम गरेकै हुन्।
हिजो ज्ञानेन्द्रकालमा प्रेसमाथि सेन्सर लाग्यो। समाचार कक्षमा सेना बन्दुक बोकेर छिरेका थिए। त्यसले पनि गणतन्त्रको माहौल बनाउन सघाएको थियो।
आज सरकार अनेक कानुन बनाएर बोलेको अनि लेखेको आधारमा नागरिकको चोटाकोठामा प्रहरी पठाइरहेकै छ। बोलेको वा लेखेको आधारमा पाँच वर्ष थुन्नकै लागि सामाजिक सञ्जाल सम्बन्धी विधेयक बनाएकै छ।
अनि अब कसैले राजतन्त्रको पक्षमा वकालत गर्यो भने ‘गणतन्त्र किन चाहिन्छ?’ भनेर वकालत गर्नेले के भन्ने? खै उत्तर दिने विषय?
०००
गणतन्त्रकालीन १८ वर्षमा केही नभएको हैन। शासन प्रणाली बदलियो। मधेशका नागरिकदेखि महिलासम्म यो देशको राष्ट्राध्यक्ष भए। कसलाई सत्तामा पुर्याउने त्यसको निर्णय नागरिकले निर्वाचनमार्फत नै गरे। गरिरहेका छन्।
समानतामुलक समाजको निर्माण, महिला, दलित, जनजाती, पिछडिएका वर्गको राजनीतिक र प्रशासनिक प्रतिनिधित्वको पक्षमा काम भएका छन्। संघीयता आयो। स्थानीय सरकार बन्यो।
व्यवस्था त बदलियो तर शासकको व्यवहार बदलिएन। शासकको व्यवहार नबदलिँदा उनीहरूको अवस्था बदलियो तर नागरिकको अवस्था जस्ताको त्यस्तै। गणतन्त्रमा पनि दलका नेता उही राजतन्त्रकालीन अवतारमै देखिए।
हिजो राजतन्त्रमा जसरी दरबारका सदस्य र दरबार निकटहरूको राज्यस्रोतमा हालिमुहाली चल्थ्यो, गणतन्त्रमा दलका सदस्य अनि उनीहरू निकटको हालिमुहाली चल्यो।
हिजो ‘शाह, ठकुरी, थापा’हरूको जगजगी देखिन्थ्यो। आज ‘शेर्पा, मल्होत्रा, ढकाल अनि भट्ट’हरूको जगजगी देखिन्छ। कोखको विशेषाधिकारको अन्त्य गरियो तर नाताको विशेषाधिकारको अन्त्य हुन सकेन। नेताका सन्तानका दिन आए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यशैली शाही आयोगकाल झैँ भयो। नेतामा डर लाज हरायो। हिजोसम्म ‘रक्सी खाएको चाल पाउलान्’ भनेर कम्बल ओढेर पिउने नेताहरू अहिले खुलमखुला रोपनीका रोपनी जग्गा ‘पिउन’ डराउन छाडे।
राज्यका नियमनकारी निकायमा बिचौलियाका प्रतिनिधि पठाएर राज्यको आर्थिक स्रोत कब्जा गराए। देश बन्ला, सन्तानले सुख पाउलान् भनेर त हो हिजो जंगल र ब्यारेकको बन्दुकसँग नडराइ छाती थापेको, सुम्ला बस्नेगरी लाठी खाएको।
तर न देश बन्ने छाँट छ, न सन्तानै देशमा बस्ने भए। १२ कक्षा पढेका कलिलालाई घर-घडेरी बन्धक राखेर सीमा कटाउनु परेको छ अनि समाजमा निरासा बढ्ने नै भयो। बढिरहेकै छ। अहिले उनीहरूका लागि के राजतन्त्र के गणतन्त्र।
०००
कहिले माओवादी, कहिले एमाले, कहिले राजावादी। व्यक्तिगत स्वार्थका लागि जता नि लाग्ने दुर्गा प्रसाईं, सत्ताका लागि मुसा बन्न नछाड्ने कमल थापा, कोही सवारी ज्यानमा धरौटीमा रहेका नक्कली झाँक्री, कोही ठगी आरोपका पित वस्त्रधारी, कोही सञ्जालको बलमा जन्मिएको अराजक गैर राजनीतिक पात्र।
हरेक संकटमा चाँदीका घेरा देखिन्छन् रे। फागुन २५ मा ज्ञानेन्द्रको स्वागतमा देखिएका यस्तै अनुहारहरू गणतन्त्रका लागि चाँदीका घेरा समान थिए।
यही अनुहारले गणतन्त्र भत्किहाल्ने गरी कमजोर भइसकेको छैन है भन्ने देखायो नै। त्यहाँ हिजो गणतन्त्र ल्याउन खाली हात परे बन्दुकसँग भिड्ने हो भनेर घर बाहिर निस्किएकाहरूको मुहार देखिएन।
जो देखिएनन् ती दलका समर्थक पनि हैनन् अहिले। अहिले ती न दलका, न दरबारका भएर बसेका छन्। रिसको ताप र तापमा छन् उनीहरू। केही दलका, केही नेतालाई भोट हालेर माननीय बनाएकोमा थकथक भए पनि गणतन्त्र ल्याएकोमा पश्चाताप शुरू भइसकेको छैन है!
गणतन्त्र जोगिने मुल बल नै यही हो।
गणतन्त्र अहिलेसम्म सुरक्षित देखिन्छ। तर, दल र नेताहरूको ठेगान छैन। बेलैमा कोर्स करेक्सनमा नजाने, खाली चेतावनी दिने, विचौलियाकै स्वार्थमा काम गर्ने हो भने राजनीतिक दुर्घटना भने निकट देखिन्छ।
अब राजनीतिक दुर्घटना हुँदा हिजो ज्ञानेन्द्रले नारायणहिटी छाडेर हिँडे जसरी हिँड्ने पालो बालकोट, बुढानीलकन्ठ, भैँसेपाटी, कोटेश्वर लागयतकै हो।
हिजो ज्ञानेन्द्रलाई नागरिक भएर बसुन् भनेर छाडेकै हो। खै भोलि छाड्लान् र!
फागुन २७, २०८१ मंगलबार १०:२७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।