प्रतिनिधि सभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दैछन्।
सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो।
प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन्।
राजावादी दल र संस्थाहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको स्वागतले राजनीतिक वृत्त तरङ्गित भएको बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लागेका हुन्।
यस्तै, आजको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइने छ। यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत सम्बन्धित अदालतको गठन सम्बन्धी सूचना टेबल गर्नेछन्।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्त्पत्ति भएको आम सञ्चार विधयेक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची पनि समावेश छ।
वन तथा वातावरण मन्त्री ऐन बहादर शाह ठकुरीद्ये मेन्ट्रियल प्रोटोकल किगाली सम्शोधनलाई अनुमोदन गरियोस भन्ने प्रस्ताव पेश गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी गरिएको कार्यसूचीमा उल्लेख छ।
फागुन २७, २०८१ मंगलबार ०७:०९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।