स्वास्थ्य संस्थाको नेतृत्वमा सधैँ दलीय भागबन्डा, वीरमा १२ औँ पन्छाएर दशौँको नाम सिफारिस

स्वास्थ्य संस्थाको नेतृत्वमा सधैँ दलीय भागबन्डा, वीरमा १२ औँ पन्छाएर दशौँको नाम सिफारिस

काठमाडौं : वीर अस्पतालमा १२औँ तहको प्रमुख विशेषज्ञ प्रमुख हुने व्यवस्था विपरीत दसौँ तहको चिकित्सकलाई निर्देशक बनाउने तयारी अगाडि बढेको छ। वीर अस्पतालमा १२औँ तहको प्रमुख विशेषज्ञ (हाल अतिरिक्त सचिव)को दरबन्दी छ। यो दरबन्दी अनुसार नै मन्त्रालय अन्तर्गत १२औँ तह (अतिरिक्त सचिव)को चार दरबन्दी कायम भएको हो।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत कायम रहेको प्रमुख  विशेषज्ञ (१२औ तह)को एक पदलाई पुल दरबन्दीमा कायम गरी वीर अस्पतालमा खटाउने व्यवस्था गर्ने’ नियम छ। यो ‘ओ एन्ड एम’ सर्वेपछि बनाइएको दरबन्दी हो।

तर रिक्त दरबन्दीमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले डा. समाज गौतम, वीर अस्पतालमा नै कार्यरत डा. दिलीप शर्मा र डा. अनुपमा कार्कीको नाम निर्देशकको लागि सिफारिस गरेका छन्।

यी तीनै जना चिकित्सक दसौँ तहका हुन्। स्वीकृत दरबन्दीको प्रावधान अनुसार १२औँ तहका कर्मचारी (स्वास्थ्यकर्मी तथा चिकित्सक) नै वीर अस्पतालको निर्देशक बन्नु पर्ने हो। तर, यस अघि पनि वीर अस्पतालमा दशौँ तहकै निर्देशक थिए, डा. सन्तोष पौडेल। डा. पौडेलको दुई वर्षे कार्यकाल फागुन ५ मा सकियो। त्यसपछि डा. गौतमले निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. बस्नेतले स्वास्थ्य मन्त्री प्रदीप पौडेलसमक्ष सिफारिस गरेको तीनै चिकित्सक दशौँ तहका भएकाले मन्त्रीले सिफारिस अनुसार निर्णय गरे उनीहरूमध्येबाटै नियुक्त हुनेछन्।

अहिले १२ औँ तहमा सचिवको प्रतिस्पर्धा गरेर असफल भएका डा संगीता कौशल मिश्रा र डा टंक बाराकोटी छन्। मन्त्रालयले चाहेमा १२ औँ तहको दरबन्दी रहेको स्थानमा सोही तहको चिकित्सकलाई सिधै नियुक्त गरेर पठाउन सक्छन्।

न्याम्सको नियमावलीले पनि निर्देशकमा नियुक्तिको लागि मन्त्रालयमा सिफारिस गर्न पाउने प्रावधान छ। सोही अनुसार निर्देशक नियुक्तिका लागि न्याम्सले नाम सिफारिस गरेर मन्त्रालयमा पठाएको देखियो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन,२०६३ को दफा–२० को उपदफा (१)मा ‘अस्पतालको प्रशासकीय प्रमुखको रूपमा काम गर्न एक निर्देशक रहने’ व्यवस्था छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको (बैठक सञ्चालन, पदाधिकारीको काम, कर्तव्य र अधिकार एवं पारिश्रमिक र सुविधा सम्बन्धी) नियमावली, २०६४ को नियम ११ मा निर्देशक सम्बन्धी व्यवस्था छ।

नियमावलीको नियम ११ को उपनियम (१) मा ‘अस्पतालको प्रशासकीय प्रमुखको रूपमा निर्देशक रहने’ व्यवस्था छ। त्यसैगरी नियमावलीको नियम ११ को उपनियम (२) मा ‘प्रतिष्ठानमा कम्तीमा सह-प्राध्यापक वा सो सरहको पदमा कार्यरत चिकित्सकमध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिबाट निर्देशकको नियुक्ति हुने’ व्यवस्था छ।

सोही व्यवस्था अनुसार सिफारिस भएर न्याम्सको सहकुलपतिको हैसियतमा स्वास्थ्य मन्त्री पौडेलले वीर अस्पतालको निर्देशक नियुक्ति गर्ने तयारी गरेका छन्।

तर, वीर अस्पतालमा १२औँ तहको दरबन्दी स्वीकृत भइसकेको अवस्थामा स्वीकृत दरबन्दी अनुसार नै अस्पतालमा सहसचिव छन्। त्यति मात्रै हैन १२औँ तह सहित वीर अस्पतालमा स्वीकृत आठ सय ३१ स्थायी दरबन्दी थप गरिएको छ। थप गरिएको दरबन्दीमध्ये करिब साढे पाँच सय कर्मचारीको स्थायी पदपूर्ति समेत भइसकेको अस्पताल स्रोतले जानकारी दियो।

स्वीकृत यो दरबन्दी अनुसार हेर्ने हो भने स्वास्थ्य मन्त्रालयले सिधै १२औँ तहको कर्मचारी (स्वास्थ्यकर्मी तथा चिकित्सक)लाई वीर अस्पतालको निर्देशक बनाएर पठाउन सक्ने देखिन्छ। अर्कातर्फ १२औँ तहको दरबन्दी नै स्वीकृत भइसकेपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको (बैठक सञ्चालन, पदाधिकारीको काम, कर्तव्य र अधिकार एवं पारिश्रमिक र सुविधा सम्बन्धी) नियमावली, २०६४ को नियम ११ मा भएको निर्देशक सम्बन्धी व्यवस्थामा पनि संशोधन गरेर १२औँ तहको कर्मचारी वीर अस्पतालको निर्देशक हुने व्यवस्था गर्नुपर्ने देखिन्छ।

तर त्यतातिर न हिजोका स्वास्थ्य मन्त्रीको ध्यान गयो, न आजका स्वास्थ्यमन्त्री पौडेलको नै ध्यान गएको छ। न प्रतिष्ठानले नै यो नियम संशोधनको लागि पहल गरेको देखिन्छ।

हुन त वीर अस्पतालमा जुनियरले नेतृत्व सम्हाल्ने रोग नयाँ हैन। हालका न्याम्सका उपकुलपति प्रा. डा. भूपेन्द्र कुमार बस्नेत नै दसौँ तहका जुनियर कर्मचारी हुन्। हाल न्याम्समा न त उपकुलपति सिनियर तहका छन् न त वीर अस्पतालका निमित्त निर्देशक नै।

डा. बस्नेत दसौँ तहका चिकित्सक भए पनि प्रतिष्ठानको नियम अनुसार उनी  प्राध्यापक भएको कारण सो मापदण्डका आधारमा उपकुलपतिको नियुक्ति पाए। यस अघिका निर्देशक  डा. पौडेल पनि नियमावली अनुसार नै सह–प्राध्यापक भएकाले निर्देशकमा नियुक्त भएका थिए।

वीर अस्पतालमा १२औँ तहको दरबन्दी भएकाले त्यहाँ १२ तहका चिकित्सकलाई निर्देशक बनाउनुपर्ने हो। तर, स्वास्थ्य मन्त्रालयले त्यो काम गर्न सकेको छैन।

तर, नयाँ स्वीकृत दरबन्दी अनुसार १२औँ तहकै कर्मचारी वीर अस्पतालको निर्देशक हुनुपर्ने देखिन्छ। तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडाले नयाँ दरबन्दी अनुसार २०७८ पुसमा १२औँ तहका चिकित्सक डा. गुणराज लोहनीलाई वीर अस्पतालको प्रमुख बनाएर नपठाएको हैनन्।

त्यो बेला अस्पतालको नेतृत्वमा उनै जुनियर तहका डा.  बस्नेत थिए। डा. बस्नेत पक्षधर केही कर्मचारीहरूले त्यो बेला डा. लोहनी न्याम्स विरोधी भन्दै आन्दोलन नै गरेर अस्पतालमा छिर्नै दिएनन्। त्यसपछि कहिल्यै अस्पतालले सिनियर नेतृत्व पाउन सकेन।

मन्त्रालयमा १२औँ तहको अतिरिक्त सचिवको चार दरबन्दीमध्ये हाल दुई वटा खाली छन्। डा. संगीता कौशल मिश्रा र डा. टंक बाराकोटी हाल मन्त्रालयको अतिरिक्त सचिवको दरबन्दीमा छन्।

स्वास्थ्य संस्थामा सधैँ दलीय भागबन्डा

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको नेतृत्वमा क्षमता हैन दलीय आधारमै नियुक्ति हुने गरेको छ। यो पुरानै रोग हो। दलीय आधारमा स्वास्थ्य सचिव नियुक्त गरेको भनेर आलोचित भए पनि अहिलेका मन्त्री पौडेलले त्यो क्रमलाई भङ्ग गरेनन्। रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा उनले आफू निकट डा रघुराज काफ्लेलाई नियुक्त गराए।

बोर्डको कार्यकारी निर्देशकका लागि काफ्लेसहित कमल पन्थी, डा कृष्णप्रसाद अधिकारीको नाम समेत सिफारिस भएको थियो। काफ्ले कांग्रेस अझ विशेष स्वास्थ्यमन्त्री पौडेल अति निकट। अन्तमा सोमबारको मन्त्रिपरिषद्मा उनकै नाम गयो। त्यही सदर भयो।

अब वीरको निर्देशक त मन्त्रिपरिषद्मा पनि लैजानु पर्दैन। मन्त्रीले नै निर्णय गर्न सक्छन्। यो संस्था पनि राजनीतिक नियुक्तले थला परिसकेको छ। एमाले-माओवादीको सरकार बन्दा वीरको निर्देशक पद खाली भयो। रिक्त पदमा एमाले कोटाबाट निर्देशक भएर आए डा सन्तोष पौडेल। उनी यस अगाडि एमाले कोटामै राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक भएका थिए।

बिचमा गठबन्धन भत्कियो। नेपाली कांग्रेस र माओवादीको संयुक्त सरकारहुँदा न्याम्सको उपकुलपति पद रिक्त भयो। मन्त्रालय कांग्रेसको नेतृत्वमा थियो। कांग्रेसको सिफारिसमा उपकुलपति भए भूपेन्द्र बस्नेत। उनी यस अगाडि युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त हुँदा पनि कांग्रेसकै कोटामा मौका पाएका थिए। बिचमा गठबन्धन भत्किने र बन्ने क्रम जारी रहे पनि उनीहरू हटेनन्।

उपकुलपति डा. बस्नेतले निर्देशकका लागि सिफारिस गरेको डा. समाज गौतम कांग्रेस निकट चिकित्सकका रूपमा परिचित छन्। वीरमा कार्यरत डा. दिलीप शर्मा एमालेभित्र पनि प्रधानमन्त्री केपी ओली निकट चिकित्सकका रूपमा परिचित छन्। डा. अनुपमा कार्की उपकुलपति डा बस्नेत निकट मानिन्छिन्। डा बस्नेत यस अगाडि युनिफाइडको प्रमुखहुँदा कार्कीलाई उप निर्देशकको जिम्मेवारी दिएका थिए।

वीरमा मात्रै हैन, अन्य स्वास्थ्य संस्थाको नियुक्ति पनि दरबन्दीको तह वा क्षमता अनुसार नभई दल निकटताकै आधारमा हुने गरेको देखिन्छ। अहिले स्वास्थ्य मन्त्रालयमा कांग्रेसको नेतृत्व छ। यस पटक कांग्रेस र एमालेबीच वीर र सिभिल अस्पतालको नेतृत्व साटफेर हुनसक्ने एक जानकारले उकेरालाई बताए।

सिभिल अस्पतालको निर्देशक छनौट समितिमा वीरका चिकित्सक रहेका डा दिलीप शर्मा विषय विज्ञ सदस्यको रूपमा संलग्न थिए। सिभिल अस्पतालको निर्देशक नियुक्तिमा सामान्य प्रशासन मन्त्रालय हाबी हुन्छ।

सामान्य प्रशासन मन्त्रालय अहिले एमालेको नेतृत्वमा छ। तर सिफारिस समितिले जनता समाजवादी पार्टी निकट देखिएका प्रमोद यादव, कांग्रेस निकट डा रुद्र मरासिनी र एमाले निकट डा मोहनचन्द्र रेग्मीको नाम सिफारिस गरेको छ।

एमाले र कांग्रेसबीचको आन्तरिक सहमति नभत्किए सिभिलमा कांग्रेसबाट रुद्र र वीरमा एमालेबाट दिलीप निर्देशक बन्न सक्ने देखिन्छ। रुद्र कांग्रेस कोटाबाट दुई पटक ट्रमाको निर्देशक भएका थिए। पौडेल स्वास्थ्यमन्त्री भएपछि उनलाई हटाएर कांग्रेसकै डा बद्री रिजाललाई निर्देशक बनाएका छन्।

फागुन २६, २०८१ सोमबार २२:२१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।