नागरिक उन्मुक्तिसँग एकीकरण गर्न जनमतले बनायो कार्यदल

नागरिक उन्मुक्तिसँग एकीकरण गर्न जनमतले बनायो कार्यदल

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न जनमत पार्टीले कार्यदल गठन गरेको छ।

पार्टीको सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न अब्दुल खान, डा शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गरेको हो।

बैठकले सङ्गठन विस्तारका लागि सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृ सङ्गठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य सरिता श्री ज्ञवालीले जानकारी दिइन्।

बैठकले प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐन कानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने, मुलुकमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरणप्रति सचेत भएर जनचेतना फैलाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सङ्गठनलाई तयार राख्ने निर्णय भएको उनले बताए।

फागुन २६, २०८१ सोमबार २०:४२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।