दलको मनमा झस्का हानेर निर्मल निवासमा पूर्व राजा, प्रतिवाद प्रदर्शन गर्न बैठकमा व्यस्त दल

दलको मनमा झस्का हानेर निर्मल निवासमा पूर्व राजा, प्रतिवाद प्रदर्शन गर्न बैठकमा व्यस्त दल

काठमाडौँ : पोखराको बसाइ सकाएर आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएर निर्मल निवास गए। आइतबार बेलुका राजतन्त्र समर्थकहरूको स्वागतसहित उनी निकै प्रफुल्ल मुद्रामा निर्मल निवास प्रवेश गरे।

पूर्व राजाको स्वागतमा सडकमा देखिएको सङ्ख्या अनि लागेको नाराले भने गणतन्त्रको पक्षधर दलका नेताहरूको मनमा झस्का हान्यो। पूर्व राजा ज्ञानेन्द्र निर्मल निवास छिरेर मौन छन्। गणतन्त्र पक्षधर नेताहरू सोमबार दिनभर प्रतिक्रिया दिन व्यस्त छन्।

आइतबार विमानस्थलको गोल्डेन गेटदेखि निर्मल निवाससम्म देखिएको दृश्यबारे विश्लेषण गर्न सोमबार माओवादी केन्द्र र एकीकृत समाजवादीको बैठक बस्यो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भयो।

माधव नेपालसँगको भेट अगाडि बसेको माओवादीको बैठकले राजवादीहरूको सक्रियता बढ्नुको कारण सरकार भएको भन्दै दोषारोपण गर्यो। अनि गणतन्त्रको पक्षमा विरोध प्रदर्शन गर्ने निर्णय पनि गर्यो।

माधव नेपालसँग भेट्न जानेक्रममा उनले राजावादीहरूको प्रदर्शनले नडराएको दाबी गरे। कहिले एमालेसँग त कहिले कांग्रेससँग मिलेर प्रचण्डले सरकार बदलिरहे। अनि एमाले र कांग्रेस मिलेर सरकार बनाए। उनी प्रमुख प्रतिपक्षी दलका नेतामा पुगे।

सोमबार उनले जुन प्रकृतिले सरकार बन्यो त्यसले जनतामा निराशा बढाएको  दाबी गरे। सरकार नागरिकप्रति उत्तरदायी नहुँदा प्रतिक्रियावादी शक्तिहरूले फाइदा लिएको तर्क गरे।

एकीकृत समाजवादीको सचिवालय बैठक बसेर राजावादीले गरेको प्रदर्शनबारे छलफल गर्दै प्रतिवादका लागि लोकतान्त्रिक र परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग सहकार्य गर्ने निर्णय गर्यो।

त्यसपछि माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत सरकारमा नरहेका दलका नेताहरू सम्मिलित लोकतान्त्रिक मोर्चाको बैठक बसेर राजावादीहरू परिवर्तनको विरुद्धमा सक्रिय भएको भन्दै विरोध प्रदर्शनका लागि मङ्गलवार बैठक बसेर मिति तय गर्ने निर्णय गर्यो।

सत्ताधारी दल एमाले र कांग्रेसको औपचारिक बैठक भने बसेन। तर सार्वजनिक मञ्चहरूमा यसका नेताहरूले आइतबारको दृश्यबारे भने आफ्ना धारणा राख्न छाडेनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक कार्यक्रममा संविधान विपरीतको कुनै पनि काम स्वीकार्य नहुने र राजावादीका नाममा सिङ्गै समाजलाई अशोभनीय बनाउने काम भइरहेको तर्क गर्दै राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिए।

रौतहट पुगेका एमाले महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको टिप्पणी गरे। पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट पाइरहेको भन्दै यति हुँदासमेत राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर होहल्ला गरेको भन्दै यो आवश्यक नभएको तर्क गरे।

पार्टीको कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एकथरी रोटी सेक्न चाहेको दाबी गरेका थिए। हिजोका दिनदेखि नै दललाई साथ दिइरहेका नागरिकको मनमा असन्तोष रहेको र त्यो असन्तोष मेट्ने जिम्मेवारी कांग्रेसको भएको दाबी समेत गरे।

स्वागतमा धर्म र दरबारको कक्टेल

आइतबार पूर्व राजा शाहको स्वागतमा देखिएको माहौल गणतन्त्र स्थापनापछिको सबैभन्दा प्रभावकारी देखियो सञ्जालदेखि समाजसम्म। तर उनको स्वागतमा सहभागीहरूको पृष्ठभूमि हेर्ने हो भने व्यवस्था नै बदल्ने ल्याकत भएकाहरू देखिएन।

सवारी ज्यान मुद्दामा उच्चबाट धरौटिमा छुटेका झाँक्री भुजेल।उनको स्वागतमा राप्रपा सबैभन्दा धेरै सक्रिय देखिएको थियो। सडकै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि थिए। तर राप्रपाबाट ज्ञानेन्द्र शाही सबैभन्दा धेरै सक्रिय देखिन्थे। तर स्वागतको रोह हेर्ने हो भने विवादित पृष्ठभूमिका दुर्गा प्रसाईँ हाबी देखिएका थिए। ज्ञानेन्द्र शाहकै शैलीमा गाडी बाहिर निस्किएर भिडतिर हात हल्लाउँदै हिँडिरहेका थिए उनी। प्रसाईँसँगै विवादित बयान दिने अनि अपराधमा पक्राउ पर्दै छुट्दै गरेका प्रकाश भुजेल लगायतकाहरु देखिएका थिए।

राप्रपाको निर्वाचनमा हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै दरबारको आलोचना गरेका कमल थापा निकै सकसका साथ भिड पन्छाउँदै शाहसम्म पुगेर खादा दिन पाउँदा निकै प्रफुल्लित देखिएका थिए। शाहले उनको खादा त लिए तर उनीतिर दोहोर्याएर हेरेनन्। थापा भने हात जोडेर उभिएका थिए।

खादा दिएर हात जोड्दै भिडमा उभिएका कमल थापा।

उनी धेरै बेर शाह अगाडि टिक्न सकेनन्। प्रहरीले धकेलेर भिडतिर पुर्याइहाल्यो। ज्ञानेन्द्र शाहले उनको खादा स्विकार गर्नु नै ठूलो सफलता पाए जस्तै देखिएको थियो उनको हाउभाउ।प्रसाईँ र स्वागत नेपाल।२०७९ को निर्वाचनमा झापाबाट स्वतन्त्र उम्मेदवार बनेका स्वागत नेपाल प्रसाईँसँगै गाडीको छत निस्किएर बढो प्रफुल्ल मुद्रामा स्वागत र्यालीको लाइभ गरिरहेका देखिन्थे।

फागुन २६, २०८१ सोमबार १९:५३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।