बागमतीमा फालेको बोराभित्र युवतीको शव, आरोपी पक्राउ, मृतकको पहिचान खुलेन

बागमतीमा फालेको बोराभित्र युवतीको शव, आरोपी पक्राउ, मृतकको पहिचान खुलेन

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेज नजिकैको बागमती नदीमा शनिवार बोरामा प्याक गरेर फालेको अवस्थामा एक युवतीको शव फेला पर्यो। स्थानीयले पानीमा डुबेको पोकोमा हात देखेपछि प्रहरीलाई खबर गरेपछि बोराभित्र युवतीको शव फेला परेको थियो।

तन्नाले बेरिएको अवस्थामा करिब ३०–३५ वर्ष उमेरकी महिलाको शव भेटिए पनि उनको पहिचान भने हुन सकेको छैन। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक नाबालकसहित ६ जनालाई पक्राउ गरेको छ। तर उनीहरूबाट समेत मृतकको पहिचान खुल्न सकेको छैन।

प्रहरीले हत्या आरोपमा अदालतबाट अनुमति लिएर सर्लाहीका कैलाश खड्का (२५), मकवानपुरका सुरेश तामाङ (२०), नुवाकोटका रोशन तामाङ (२४), सिन्धुपाल्चोककी पूजा परियार (२०), पेम्बा तामाङ र एक नाबालकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

मृतक र पक्राउ परेकाहरू घटनाको रात सँगै सुतेकोसम्म खुलेको छ। तर मृतक को हुन् पक्राउ परेका आरोपहरूले समेत भन्न सकेका छैनन्। उनीहरूले उनको घर ओखलढुङ्गा भएको मात्र बताएका छन्।

पक्राउ परेकाहरू सामान्य ज्याला मजदुरी गर्ने समूह हुन्। प्रहरीका अनुसार उनीहरू महांकाल, बौद्ध, जोरपाटी, नारायणटार क्षेत्रमा काम गर्ने गरेका थिए। मृतक युवती र पक्राउ परेकी पूजा परियार भने होटेलमा भाँडा माझ्ने काम गर्दै आएको खुलेको छ।

हत्या कि दुर्घटना?
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा फागुन २० को राति कैलाश, सुरेश, पूजा र मृतक युवती पूजाको कोठामा बसेका थिए। त्यो रात उनीहरूले रक्सी र गाँजा खाएर सुतेका थिए।

बिहान उठ्दा कैलाश र सुरेश फरार थिए, युवती मृत अवस्थामा भेटिइन्। पूजाले प्रारम्भिक बयानमा खुलाए अनुसार उनी मृत फेला परेपछि जोगिन उनीहरूले शव पहिला तन्नाले बेरेर बोरामा राखेर खोलामा लगेर फ्याकेका थिए।

उनले आफूले हत्या नगरेको पक्राउ आरोपीहरूले दाबी गरेका छन्। मृत फेला परेपछि जोगिन शनिवार बिहान ४ बजे चारै जनाले शव बोरामा प्याक गरेर बागमती खोलामा फ्याकेका थिए।

शव फालेर सबै फरार
शव भएको बोरा बोकेर चार जनाले खोलामा फ्याकेको सिसिटिभी फुटेजमा देखिएपछि प्रहरीले त्यसैको आधारमा आरोपीहरूको खोजी सुरु गरेको थियो। तर तत्काल फेला पार्न सकेन।

शव फालिसकेपछि पूजा सिन्धुपाल्चोक पुगेकी थिइन्। उनी केही दिन त्यतै बसिन्। हल्ला नभएपछि उनी पुनः काठमाडौं फर्किएपछि लोकन्थलीमा बस्न थालिन्। उनी त्यतै पक्राउ परिन्। अन्य चार जनालाई प्रहरीले गोठाटारस्थित राधाकृष्ण मन्दिर नजिकैको एक टहरामा बसेको अवस्थामा फेला पार्यो।

मृतकको शरीरमा चोट पटक नभएकाले उनको हत्या भएको हो वा हैन भन्न सक्ने अवस्था अझै देखिएन। प्रहरी अहिले पोस्टमार्टम रिपोर्ट कुरेर बसेको छ।

फागुन २६, २०८१ सोमबार १७:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।