प्रदीपको जन्मदिनमा ‘पिताम्बर’को दोस्रो टिजर रिलिज

काठमाडौं : नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ।
फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा फिल्ममा रहेको प्रदीपका दृश्यहरुलाई मात्र स्थान दिइएको छ। अधिकांश दृश्य एक्सनका छन्।
प्रदीपले ‘पिताम्बर’मा विभिन्न समयमा दिएका एक्सन स्टन्टलाई टिजरमा प्राथमिकता दिइएको छ। केही दृश्यमा उनलाई सामान्य अवस्थाको पनि देखाइएको छ।
फिल्मको यसअघि सार्वजनिक भएको गीत ‘म त फ्यान भए यार’ले चर्चामा छ। गीतले पाइरहेको चर्चाले निर्माण टिम उत्साहित छ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय छ।
कृषा चौलागाईको निर्देशन रहेको फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन्।
फागुन २६, २०८१ सोमबार १४:२०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।