प्रधानमन्त्री कप : आर्मीले २६२ बनाउँदा पुलिसले जोड्यो २४८ रन, गण्डकीले सुदूरलाई दियो २२१ को लक्ष्य

प्रधानमन्त्री कप : आर्मीले २६२ बनाउँदा पुलिसले जोड्यो २४८ रन, गण्डकीले सुदूरलाई दियो २२१ को लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ।

भैरहवाको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको टोलीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६२ रन बनायो।

उसका लागि सन्तोष कार्कीले ७६ रनको अर्धशतकीय पारी खेल्दा कप्तान विनोद भण्डारीले अविजित ४७ रनको पारी खेले।

त्यसबाहेक त्रितराज दासले ३६, विवेक यादवले ३०, कुशल मल्लले २६ रन बनाउँदा बागमतीका खेलाडीले ३५ रन अतिरिक्त दिए।

बागमतीका लागि इसान पाण्डे, रिजन ढकाल र प्रतिश जिसीले समान दुई–दुई विकेट लिए।

त्यसैगरी, प्रतियोगिता अन्तर्गत तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा जारी खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ६ विकेट गुमाएर २५० रनको लक्ष्य दिएको छ।

पुलिसका लागि कुशल भुर्तेलले ५९ र आरिफ शेखले ५६ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक दिलिप नाथ ३४, अमृत श्रेष्ठ २२ रनमा आउट हुँदा गुल्सनकुमार झाले ३६ रनको पारी खेले।

कप्तान दिपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुँदा लुम्बिनीका बलरले २३ रन अतिरिक्त दिए। लुम्बिनीका कृष्ण कार्की र अजय चौहानले समान तीन–तीन विकेट लिए।

त्यसैगरी दाङको लमहीमा भएको अर्को खेलमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर गण्डकीले सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य दियो।

गण्डकीका दीपक डुम्रे र अर्जुन कुमालले क्रमशः ६० र ५७ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक भान्स क्षेत्री १८, दिनेश बुढामगर १५, अमृत गुरुङ र कप्तान विपिन खत्री समान १०–१० रन बनाएर आउट हुँदा सुदिप अर्यालले नटआउट २३ रन जोडे।

सुदूरपश्चिमका बलरले १८ रन अतिरिक्त खर्चिए। उसका लागि शेर मल्लले तीन विकेट लिँदा नारायण जोशीले दुई विकेट लिए।


अहिले बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जवाफी ब्याटिङ गरिरहेका छन्।

फागुन २६, २०८१ सोमबार १३:३१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।