दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक

दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक

काठमाडौं : कवि दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड’ लोकार्पण गरिएको छ।

आफ्ना कविता छापिन थालेको ५० वर्ष हुन लागेको अवसर पारेर पब्लिकेशन नेपालयले ‘पानीको परेड’ प्रकाशन गरेको हो।

‘२०३२ चैतमा ‘रत्नश्री’मा मेरा दुइटा कविता छापिएपछि मेरो काव्यिक परेड सुरु भएको हो,’ पुस्तक लोकार्पण कार्यक्रममा अधिकारीले भने, ‘पुस्तकका रुपमा ‘अन्तरका छिटा’देखि आज ‘पानीको परेड’सम्म आइपुगेको छु।’

कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, वासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्य बनाएको पनि कवि अधिकारीले स्मरण गरे।

२०३६ सालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर अग्रज कविहरु मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेहरुका साथमा आन्दोलनमा होमिएको स्मरण गर्दै अधिकारीले त्यतिबेला आफ्नो जागिर संयोगले जोगिएको बताए।

आफ्नो ५० वर्ष लामो काव्ययात्राका अनुभूति बाँड्दै गर्दा कवि अधिकारीले कविताबारे आफ्नो दृष्टिकोण पनि सुनाए।

‘कहिले लाग्छ, कविता जीवनको कलात्मक मन्तव्य हो। कहिले लाग्छ, जीवनको विद्रोही वक्तव्य हो,’ उनले भने, ‘कविता शिल्प र कल्पनाको अँगालो त हो नै; यो भावना र विचारको भँगालो पनि हो  समयको छाप सँगसँगै संवेदनाको एकालाप पनि हो, कविता।’

‘पानीको परेड’ कविता संग्रहभित्र कवि अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका धेरै कविताबाट छानेर ७७ वटा समेटिएको छ।

१८० पृष्ठको कविता संग्रहको मूल्य ५२५ रुपैयाँ तोकिएको छ। पुस्तक देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध रहने पब्लिकेसन नेपालयले जनाएको छ।

फागुन २६, २०८१ सोमबार १२:२५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।