फ्लोरमा पुगेपछि फेरिन्छ नेपाली फिल्मका स्क्रिप्ट, समीक्षकको आरोप- ‘नायिकाहरू स्क्रिप्ट पढेर फिल्म खेल्दै खेल्दैनन्’

फ्लोरमा पुगेपछि फेरिन्छ नेपाली फिल्मका स्क्रिप्ट, समीक्षकको आरोप- ‘नायिकाहरू स्क्रिप्ट पढेर फिल्म खेल्दै खेल्दैनन्’
तस्बिर- एआईबाट बनाइएको

काठमाडौं : फिल्मको मुख्य मेरुदण्ड नै स्क्रिप्ट हो। जुन कमजोर भयो भने निर्माण गरिएको फिल्म कस्तो बन्ला? कि त मेरुदण्ड नभएको मासुको थुप्रो जस्तो कि त हिड्नै नसक्ने अवस्थाको। नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुँदा नेपाली फिल्म पनि यस्तै बन्ने गरेको आरोप छ।

एक वर्षअघि फिल्म ‘हात्तीछाप’को कथा त्यस्तै थियो। जहाँ सौगात मल्लको जुन भूमिका थियो, त्यो भन्दा बढि उनलाई चिच्याउन लगाइयो। यसमा प्रश्न उठेपछि सौगातले फिल्मको स्क्रिप्टमा दम नभएपछि अभिनयमार्फत कथालाई बलियो बनाउन चिच्याउनु परेको उनको तर्क थियो।

एक साताअघि अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘सारंग’को प्रमोसनमा बेला पनि सौगातको जस्तै कुरा गरिन्। उनले आफूले साइन गरेका फिल्मको स्क्रिप्टमा लेखिएका ५० प्रतिशत विषय पनि ओरिजिनल स्क्रिप्टमा नउतारिने आरोप लगाइन्।

उनले भनेकी थिइन्, ‘हामीले मेकरले बोलेको कुरा र स्क्रिप्टलाई ट्रस्ट गरेर फ्लोरमा जाने हो। फ्लोरमा गएको २/३ दिनमै हामीलाई फिल्म भनेको जस्तो बन्दैन भनेर थाहा हुन्छ। तर पनि अब बाँधिइसकेको हुन्छ। आफ्नो फिल्म सक्काउनै पर्छ। त्यस्तो अवस्था धेरै पटक आएको छ।’

अभिनेत्री तथा निर्मात्री समेत रहेकी पूजा शर्माले पनि स्क्रिप्ट अनुसारको फिल्म नबन्ने गरेको बताउँछिन्। स्क्रिप्ट अनुसार निर्माता र निर्देशक नजाँदा फिल्म बन्न कम्प्रोमाइज हुने गरेको उनको तर्क छ। निर्माताको अनुभव समेत बटुलेकी शर्माले लोकेसन, खर्च तथा अन्य विविध कारणले गर्दा स्क्रिप्टमा लेखिए अनुसार फिल्म नबन्ने गरेको स्वीकारिन्।

‘स्क्रिप्टमा जे पढिएको हुन्छ, सेटमा पुगेपछि त्यो हुँदैन,’ पूजाले भनिन्, ‘सुटिङ सेटमा पुगेपछि बजेटको कुरा आउँछ। स्क्रिप्टमा लेखिएको जुन लोकेसन उपलब्ध हुँदैन। कतिपय स्क्रिप्टमा भनिएको घरमा सुटिङ गर्न पाइँदैन। घर नपाएपछि फरक ठाउँमा जानैपर्यो। प्रायजसो फिल्मको स्क्रिप्ट एउटा अनि खिचाइ अर्को हुन्छ नै। यसमा दुईमत छैन।’

उनले हरेक फिल्ममा केही न केही परिवर्तन हुने गरेका बताइन्। उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘फिल्म सम्झना बिर्सनामा पनि त्यस्तै भएको थियो। भन्दा एउटा भनिएको थियो तर बन्दा अर्कैै अनि नर्मल नै बन्यो।’

फिल्म ‘मंगलम्’बाट चर्चामा आएका अभिनेता पुष्प खड्काले स्क्रिप्ट अनुसार ठ्याक्कै फिल्म नबनेको स्वीकार गर्छन्। लेखकले लेखेको स्क्रिप्ट र निर्देशकको भिज्युअल्ली कुरा अवस्था अनुसार फरक हुने गरेको उनको भनाइ छ।

उनले भने, ‘एउटा त फिल्ममा काम गर्दा टिम नमिल्नु अनि अर्को भनेको स्क्रिप्ट अनुसारको ठाउँ नहुँदा पनि लेखिए अनुसार कै फिल्म बन्दैनन्। लेखकको भिज्युअल निर्देशकले नदेख्न सक्छ। कहिलेकहिँ लेखकको भन्दा पनि निर्देशकले बबालै बनाएका पनि हुन्छन्। मैले गरेका कतिपय फिल्ममा यस्तै भएका छन्।’

लेखक तथा निर्माता शिवम् अधिकारी पनि आफूले लेखेको र छायांकन भएर आएको फिल्म हेर्दा आकाश पातालको फरक हुने गरेको बताउँछन्। दर्जनौं फिल्म लेखेका अधिकारीले आफ्नो लेखनमा आफ्नो मात्र हात नहुनेको बताउँछन्। उकेरासँगको कुराकानीमा उनले आफ्नो कन्सेप्ट निर्देशकले नबुझ्दा फिल्म सोचे अनुसार नबन्ने तर्क गर्छन्।

‘मैले लेखेको प्रायः फिल्म सेटमा पुगेपछि अधिकांश नै फरक आउँछ। मैले एउटा कन्सेप्टमा लेखेको हुन्छु, निर्देशकले त्यसलाई नबुझेर अर्कै कन्सेप्टमा फिल्म बनाएर प्रदर्शनमा ल्याउनुहुन्छ’, उनी भन्छन्।

कतिपय निर्माता तथा निर्देशकले निश्चित कलाकार राख्नैपर्ने बाध्यतामा फिल्म बनाउँदा पनि फिल्म स्क्रिप्टभन्दा बाहिर जाने गरेको उनको भनाइ छ। आफ्नै कतिपय फिल्म पनि कन्सेप्टभन्दा अलग्गै बनेर आएको उनको गुनासो छ।

उनले भने, ‘फिल्मको स्क्रिप्ट लेख्दै जाँदा कलाकार, निर्माता, निर्देशकको आ–आफ्नै दबाव हुन्छ। निर्माता र निर्देशकले फिल्म लेख्नुभन्दा पहिले नै फलना कलाकार राख्ने हो है भन्ने दबाब दिनुहुन्छ। फिल्मको कथा लेख्दै गर्दा लगानीकर्ताले पनि मेरो फिल्ममा यो कलाकार हुन्छ भनेर फिक्स गरेर आउनुहुन्छ। अनि कथा अनुसार ठ्याक्कै उल्टो हुन्छ। कन्सेप्ट अनुसारको फिल्म निर्माण गर्न बजेटको पनि कुरा आउँला। त्यसैले अधिकांश कुराहरू परिवर्तन भएर आएका हुन्छन्।’

रंगमञ्चमा लामो समय काम गरेका अभिनेता भोलाराज सापकोटा पनि आफूले पढेको स्क्रिप्ट अनुसार फिल्ममा काम गर्न नपाएको गुनासो गर्छन्। बलिउड फिल्म‘बर्फी’मा समेत अभिनयको अनुभव बटुलेका सापकोटाले स्क्रिप्टमा लेखे अनुसारको नेपाली फिल्म बन्न त गाह्रै पर्ने बताए।

‘स्क्रिप्टअनुसार फिल्म बनेको मैले अहिलेसम्म भेटेको छैन,’ उनले भने, ‘स्क्रिप्ट अनुसारको नै फिल्म खिच्ने हो भने अहिले आइरहेका भन्दा धेरै अब्बल फिल्म बन्छन् जस्तो लाग्छ।’

सबैजसो कलाकारले स्क्रिप्ट अुनसारको फिल्म नबन्ने गरेको बताउँदा कसैले पनि एउटा फिल्मको नाम भने लिन सकेनन्। एउटा फिल्मको नाम त भन्न मिल्ला नि भन्ने उकेराको प्रश्नमा अधिकांश कलाकारले ‘सबै फिल्ममा उस्तै हुन्छ, ठ्याक्कै नाम भन्दा अप्ठ्यारो पर्छ’ भनेर नाम भन्न चाहेनन्।

०००

कलाकारहरूले निर्देशकले स्क्रिप्टअनुसारको फिल्म नबनाएको आरोप लगाइरहँदा लेखक तथा निर्देशक दीपेन्द्र के खनाल भने कलाकारहरूको भनाइमा सहमत छैनन्। कलाकारसँग सम्झौता गर्दाको स्क्रिप्ट र सुटिङ गर्दाको स्क्रिप्ट एउटै हुने उनको दाबी थियो। तर, सुटिङमा जानुअघिसम्म स्क्रिप्टमा निरन्तर काम भइरहने भएकाले केही ‘माझिने’ भने स्वीकारे।

उनले भने, ‘एग्रिमेन्ट गर्ने बेलामा पहिलो चरणको ड्राफ्ट दिइएको हुन्छ। त्यो ड्राफ्ट परिवर्तन हुँदै सुटिङमा जाने बेलासम्मका केहि परिवर्तन भइसकेको हुन्छ। फाइनल स्क्रिप्टमा कुनै क्यारेक्टर बढ्ने र कुनै घट्ने हुनसक्छ। यद्यपि फ्लोरमा गइसकेपछि स्क्रिप्टमा भएको भन्दा धेरै ठूलो फरक हुन्छ जस्तो मलाई लाग्दैन।’

आफूले स्क्रिप्ट अनुसारकै फिल्म छायांकन गर्दै आएको दाबी गरे पनि निर्देशक खनालले सम्झौता गर्दा दिइएको स्क्रिप्टमा भनेको पात्रको भूमिकामा केही थपघट हुने बताए।

‘मैले अहिलेसम्म स्क्रिप्टमा भएको कुरा बाहेक खिचेको जस्तो लाग्दैन,’ उनले थपे, ‘स्क्रिप्टको फाइनल ड्राफ्टमा पुग्दा केही पात्रको भूमिका भने घटबढ हुन्छ नै!’

पटकथाकार तथा अभिनेता दीपकराज गिरी पनि फिल्म फ्लोरमा जाँदा अलि–अलि करेक्सन हुने स्वीकार्छन्।

उनले भने, ‘सबै कलाकारहरूको आ-आफ्नै काम गर्ने शैली हुन्छ। काम गर्ने प्रोडक्सन हाउसमा पनि भर पर्छ। स्क्रिप्ट अलि-अलि परिवर्तन त हुन्छ नै! कलाकारहरूले कि त स्क्रिप्ट अनुसारको पटकथामै काम गर्छु भन्नुपर्यो होइन भने काम गर्दै जाँदा पटकथा र संवादमा अलिअलि करेक्सन त हुन्छ नि!’

लेखेको र काम गरेको ठाउँ फरक हुनसक्ने भएकाले पनि स्क्रिप्टमा लेखेका कुरा ठ्याक्कै नहुने उनी स्वीकार्छन्।

निर्मात्री तथा निर्देशक कृषा चौलागाईं पनि अवस्था अनुसार स्क्रिप्टमा केही विषय फेरबदल हुनसक्ने बताउँछिन्। प्रशासनको अवरोध, भनेजस्तो लोकेसन लगायतका कारणले स्क्रिप्टमा कम्प्रमाइज गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ।

‘स्क्रिप्ट ओभरल रूपमा परिवर्तन हुँदैन। जे कुरामा लक गरेका हुन्छौँ, त्यसमा कहिलेकहिँ लोकेसन परिवर्तन गर्दा या प्रशासनिक कुराले गर्दा थोरै परिवर्तन गर्नुपर्ने हुन्छ। सबै परिवर्तन भन्ने त हुँदैन’, उनले उकेरासँग भनिन्।

फिल्मले राम्रो नगर्दा वा राम्रो समीक्षा नआउँदा कहिलेकहीँ कलाकारहरूले आफ्नो बचाउका लागि पनि स्क्रिप्ट अनुसार फिल्म बनेन भन्ने गरेको उनको आरोप छ।

‘फिल्म चल्यो भने कलाकारले पनि बबालै भन्दिनु हुन्छ। फ्लप भयो भने निर्देशक र मेकरले गर्दा बिग्रियो भन्नुहुन्छ,’ उनले भनिन्, ‘कलाकारले आफ्नो बचाउका लागि पनि भनेको जस्तो स्क्रिप्ट भएन, निर्देशकले यसो गर्यो उसो गर्यो भन्ने गर्नुहुन्छ।’ 

‘नेपालका कुनै पनि नायिकाले स्क्रिप्ट पढेर फिल्म खेल्दै खेल्दैनन्’
स्क्रिप्ट अनुसारको फिल्म नबन्ने नायिकाहरूले कुरा उठाइरहँदा समीक्षक प्रकाश सायमी भने नायिकाहरूले स्क्रिप्ट पढेर फिल्म खेल्दै नखेल्ने दाबी गर्छन्। सुटिङमा जाने समयसम्म पनि फिल्मको स्क्रिप्ट निर्देशकको हातमा आइसकेको नहुने तर्क गर्दै उनले नायिकाहरूमाथि यस्तो आरोप लगाएका हुन्।

‘फ्लोरमा जाने समयसम्म पनि स्क्रिप्ट तयार भइसकेको हुँदैन। निर्देशकको हातमा नै एक लाइन बाहेक स्क्रिप्ट आइपुगेको हुँदैन,’ उनले भने, ‘मलाई लाग्छ नेपालका कुनै पनि नायिकाले स्क्रिप्ट पढेर फिल्म खेल्दै खेल्दैनन्। किनभने उनीहरूलाई स्क्रिप्ट नै दियो भने पनि त्यो स्क्रिप्टको कन्सेप्ट नै बुझ्दैनन्। फिल्मको स्क्रिप्ट त ड्रामा जस्तो हुन्छ। नपढेको कारण पनि यस्तो भएको हो।’

समीक्षक सायमी पूर्ण रुपमा लेखिएको स्क्रिप्ट कलाकारलाई दिएको अहिलेसम्म रेकर्ड नै नभएको बताउँछन्। स्क्रिप्ट नै दिए पनि कलाकारसँग त्यो पढ्नका लागि समय नै नभएको उनको तर्क छ।

‘पूर्ण रूपमा लेखिएको स्क्रिप्ट कलाकारलाई दिएको रेकर्ड नै छैन। स्क्रिप्ट नै भयो भने पनि हिरो हिरोइनलाई पढ्ने फुर्सदै हुँदैन,’ उनले थपे, ‘किनभने त्यो स्क्रिप्ट कसरी लेखिएको छ। पात्रहरू कसरी डुबेका छन्। त्यो सबै पढ्नलाई त इमान्दारीपूर्वक समय दिनपर्यो नि! त्यो छैन। खास कारण् यही हो।’ 

फागुन २६, २०८१ सोमबार १३:४९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।