निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि तीन चिकित्सकको नाम सिफारिस

काठमाडौं : निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना चिकित्सकको नाम सिफारिस भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आईतबार जारी गरेको सूचनामा डा. प्रमोद कुमार यादव, डा. रुद्र प्रसाद मरासिनी, प्रा. डा. मोहनचन्द्र रेग्मीको नाम सिफारिस गरेको हो। कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन परेको थियो।
सिफारिस भएका तीनमध्ये दशौं तहका डा. यादव वीर अस्पताल र एघारौं तहका डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्। डा. रेग्मी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थिए। उनी हाल काजमा निजामति कर्मचारी अस्पतालमा छन्।
‘निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७ को विनियम १८ (१) मा ‘सिफारिस समितिले विनियम १७ बमोजिम अन्तिम अंक गणना गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जना उम्मेदवारको नाम कार्यकारी निर्देशकको नियुक्तिका लागि योग्यताक्रमको आधारमा समिति समक्ष सिफारिस गर्ने’ प्रावधान छ।
सो प्रावधान अनुसार यी तीन चिकित्सकको नाम सिफारिस भएका हुन्। मुख्य सचिव अध्यक्ष रहेको निजामति कर्मचारी अस्पताल विकास समितिलले यी तीनमध्ये एकलाई निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक नियुक्ति गर्नेछ।
फागुन २६, २०८१ सोमबार ०९:३६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।