मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै

मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै

जनकपुर : १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्ने भएको छ। आइतबार सतोषर पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि औरहीका लागि प्रस्थान गरेका छन्।

धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली ११औं दिन सतोषर पुगेको थियो भने आज १२औं दिन औरहीमा रात्री विश्राम गर्नेछन्।

आज औरहीमा विशेष मेला आयोजना गरिएको छ। परिक्रमालाई मध्यजनर गर्दै औरहीमा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ।

परिक्रमा भोली करुणाका लागि निस्किने छ। त्यसपछि विशौलमा एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्नेछ र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ।

नेपाल-भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ।

फागुन २६, २०८१ सोमबार ०८:२६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।