भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी विजेता, न्युजिल्यान्ड ४ विकेटले हार्यो

एजेन्सी : भारतले न्युजिल्यान्डलाई हराएर तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा उसले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्यो। भारत च्याम्पियन्स ट्रफी सर्वाधिक तीन पटक जित्ने पहिलो टिम बनेको छ।
यसपटक भारतले सानदार प्रदर्शनका साथ अपराजित रहँदै च्याम्पियन बन्यो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्त रूपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा दोस्रो पटक उपाधि जितेको थियो। सन् २००२ को विजेता न्युजिल्यान्डको दोस्रो पटक उपाधि जित्ने सपना पूरा हुन सकेन।
आइतबारको फाइनलमा २५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाएर विजय हासिल गर्यो। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भारतले उत्कृष्ट सुरुवात गरेको थियो। कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गरे। यी दुई खेलाडीले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्दै न्युजिल्यान्डका बलरहरूलाई दबाबमा पारे।
रोहित शर्माले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतले महत्वपूर्ण अर्धशतक प्रहार गरे। मिचेल स्यान्टनरको बलमा ३१ रन बनाएका शुभमन गिल पहिलो विकेटका रूपमा आउट भए।
त्यसपछि भरपर्दा तथा अनुभवी खेलाडी विराट कोहलीले सामना गरेको दोस्रो बलमा मात्र १ रन बनाएर आउट भए। उनलाई ब्रेसवेलले एलबीडब्लु आउट गराए।
क्रिजमा जमिरहेका रोहित शर्मालाई राचिन रविन्द्रले पेभेलियन पठाए। ८३ बल खेल्दै ७ चौका र ३ छक्कासहित उनले ७६ रन बनाए। त्यसपछि तेस्रो विकेटको पतनमा भारतले १२२ रन बनाएको थियो।
त्यसपछि श्रेयस अय्यर र अक्षर पटेलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे। श्रेयस अर्धशतकबाट २ रनले चुके र ४८ रनमा आउट भए। अक्षर पटेलले २९ रन बनाएर पेभेलियन फर्किए।
केएल राहुल र हार्दिक पाण्ड्याले भारतलाई जितको दिशातर्फ अघि बढाए। यस क्रममा १८ रनमा केएल राहुल जेम्मिसनको बलमा कट एण्ड बोल्ड भए। केएल राहुलले अविजित ३४ रनमा रहँदै भारतलाई विजय दिलाउन सफल भए। बलिङतर्फ मिचेल स्यान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले संघर्षपूर्ण खेल खेल्दै ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो। विल यंग र राचिन रविन्द्रले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरे। यंग १५ रनमा आउट भएसँगै न्युजिल्यान्डका विकेटहरू निरन्तर अन्तरालमा झरे। राचिन रविन्द्रलाई ३७ रनमा कुलदीप यादवले बोल्ड आउट गराए।
त्यसलगत्तै मात्र ११ रन बनाएका केन विलियमसनलाई पनि कुलदीप यादवले कट एण्ड बोल्ड गर्दै पेभेलियन पठाए। ७५ रन बनाउँदा ३ विकेट गुमाएको न्युजिल्यान्डले राम्रो सुरुवात गर्न सकेन। टम लाथमले १४ रनमा आउट भए।
त्यसपछि डारिल मिचेल र ग्लेन फिलिप्सले पाँचौँ विकेटका लागि ५७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। फिलिप्स ३४ रनमा आउट भए। मिचेल र सातौँ क्रमका ब्याटर माइकल ब्रेसवेलले अर्धशतक प्रहार गरे।
मिचेलले १०१ बल खेल्दै सर्वाधिक ६३ रन बनाए। ब्रेसवेलले अविजित ५३ रनमा क्रिजमा रहे। उनले ४० बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे।
बलिङतर्फ कुलदीप यादवले १० ओभरमा ४० रन खर्चेर २ विकेट लिए। १० ओभर नै बलिङ गरेका वरुण चक्रवर्तीले ४५ रन खर्चेर २ विकेट हात पारे। रविन्द्र जडेजा र मोहम्मद शमीले १/१ विकेट लिए।
भारत ग्रुप 'ए' को विजेता र न्युजिल्यान्ड यही समूहबाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
फागुन २६, २०८१ सोमबार ००:४९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।