होस्टेल थ्री : थ्री इडियट्सको कथ्य संरचनामा रिङग्याउने प्रेम कथाको घोल

होस्टेल थ्री : थ्री इडियट्सको कथ्य संरचनामा रिङग्याउने प्रेम कथाको घोल

फिल्मको सुरुवात हुन्छ फोन कलबाट। एक विमानमा हुन्छन्। अर्को घरमा। फोन आए लगत्तै दुवै तोडिँदै पुग्छन् पुरानो कलेजको होस्टेलको छतमा। त्यहाँ भेटिन्छन् तेस्रो पात्र। हराएका एक साथीको खोजीमा यी तीनै जना गाडीमा हिँड्छन्। अनि सुरु हुन्छ फ्ल्यासब्याकमा कलेज अनि होस्टेलको कथा।

तीन मिल्ने साथी। तीनै जनाको सोच अनि आर्थिक अवस्था नै फरक। होस्टेल रमाइलो जीवन , घोचपेच, प्रेम कथा, पढाइको प्रेसर। यस्तै यस्तै कथामा फिल्म अगाडि बढ्छ। कलेज जीवन सकिएपछि भेट नभएका पात्रलाई जब उनीहरूले भेट्छन् फिल्म सकिन्छ।

यो अहिले हलमा प्रदर्शन भइरहेको 'होस्टेल थ्री' को कथा हो पनि हैन पनि। कथा हो भनौँ, यो शिक्षण र सिकाई विधिमाथि बनेको निकै चर्चित र स्तरीय भारतीय फिल्म ‘थ्री इडियट्स’को कथा हो। अब कथा हैन भनौँ भने 'होस्टेल थ्री'को कथाको अवधारणा, संरचना निर्माण र कथ्य शैली ठ्याक्कै उस्तै देखिन्छ।

अब फिल्मको कथा संरचनामा सेन्ट्रल थटको प्रसङ्ग आइहाल्यो। यसबारे छोटो उल्लेख गरौँ पनि।

फिल्मको सेन्ट्रल थट अर्थात् केन्द्रीय विचार त्यो हो जसले पूरै फिल्मलाई एउटा दिशामा अगाडि बढाउँछ। यसलाई तीन कोणबाट हेर्न सकिन्छ। पहिलो हो मूल विचार। यसलाई फिल्मको आत्मा नै भने पनि हुन्छ। फिल्ममा रहेको मुख्य सन्देश हो यो जुन निर्देशक वा लेखकले दर्शकमाझ पस्कने प्रयास गर्छन् फिल्ममार्फत।

थिमलाई दोस्रो तत्त्व मानौँ। फिल्मका विभिन्न पात्र, घटना र दृश्यहरूलाई जोड्ने केन्द्रीय विषय यही हो। यसले फिल्मको मुख्य कथाको गहिराइ र त्यसको अर्थलाई प्रस्ट्याउने काम गर्छ। फिल्मको आधारभूत अवधारणा वा वैचारिक जगलाई जसलाई प्रेमिस वा आधारशिला भनिन्छ यसलाई तेस्रो तत्त्व मान्न सकिन्छ। यसलाई  कुनै कथा, पटकथा, फिल्म, वा कृतिको आधारभूत अवधारणा वा वैचारिक जग मान्न सकिन्छ। 

थ्री इडियट्सको सेन्ट्रल थट हेर्ने हो भने यो शिक्षा प्रणालीमाथि व्यङ्ग्यात्मक रूपमा निर्माण गरिएको फिल्म हो। यसमा शिक्षा भनेको रट्नु होइन, बुझ्नु महत्त्वपूर्ण हो, अङ्क होइन, प्रतिभाको खोजी महत्त्वपूर्ण हो, प्रतिस्पर्धा हैन, आपसी सहयोग महत्त्वपूर्ण हो अनि अभिभावकको रहर हैन आफ्नो रुचि पछ्याउनु महत्त्वपूर्ण हो भन्ने सन्देश दिन्छ।

यही फ्रेममा अब 'होस्टेल थ्री'लाई राखेर हेर्ने हो भने यसका सन्देश गन्जागोल छन्। निर्दोषको पक्षमा लाग्नु पर्छ भन्ने सन्देश भन्ने कि, एकतर्फी मायाको नकारात्मक पक्ष भन्ने कि, प्रेम भनेको प्रेम हो त्यसमा न लिंग हेरिन्छ न जात भन्ने कि कमजोर पात्रलाई दिएको साथ भन्ने। फिल्ममा विभिन्न पात्र छन्, घटना छन् अनि दृश्यहरूलाई जोड्ने विषय फरक फरक। प्रयोग गरिएको कथ्य फ्रेम भने उस्तै।

फिल्मको अन्त्यमा कथालाई फरक देखाउने प्रयास भएको छ 'होस्टेल थ्री'मा। कलेज सक्काएर कोही स्वदेश अनि कोही विदेशमा रहेका साथीहरूलाई एक पात्रले निश्चित मिसनका लागि एकै ठाउँ भेला पार्छन्। कथा फ्ल्यासब्याक जाँदा होस्टेलको जीवनको कथा शुरु हुन्छ। अन्तमा उनीहरू एक मिसनमा मिसिन्छन् र त्यसमा सफल हुन्छन्।

थ्री इडियट्समा होस्टेलको छतबाट सुरु हुने फिल्म यता 'होस्टेल थ्री'मा  डाँडाबाट सुरु हुन्छ। थ्री इडियट्समा शिक्षा मुख्य थिम छ। यसमा मुख्य थिम नै गंजागोल छ। 'थ्री इडियट्स'को एक पात्र कलेजबाट रेस्टिकेटमा परेपछि कलेजको छतबाट हाम फालेर आत्महत्याको प्रयास गर्छ। उसको पारिवारको आर्थिक पृष्ठभूमि कमजोर छ।

यता 'होस्टेल थ्री'को एक पात्र पनि छतबाट हामफालेर आत्महत्याको गर्ने प्रयास गर्छ। यताको कारण चैँ नक्कली प्रेम सम्बन्ध। उसको पनि पारिवारिक आर्थिक पृष्ठभूमि कमजोर। 'थ्री इडियट्समा पात्र हाम फालेर घाइते भए पनि उपचारपछि बाँच्छ। यता चैँ हाम फाल्नु अगाडि नै जोगिन्छ।

थ्री इडियट्समा अभिभावकको आर्थिक अवस्था कमजोर भए पनि दुख गरेर छोरालाई इन्जिनियर बनाउन अभिभावकले गरेको दुख सम्झाएर पात्रलाई प्रेरित गरिन्छ। यता पनि उस्तै हो।

उता कलेजको पढाइ सकिएपछि सम्पर्कहिन भएको साथीको खोजी, यता न्याय अनि प्रेमको। अझ फिल्मको इन्डिङ हेर्ने हो भने त नेपाली फिल्म 'हजार जुनी'सम्मसँग ट्वाक्कै मिलेको देखियो।  के अब यी सबैलाई संयोग मात्र मान्ने हो त ! पक्कै हैन।

यति हुँदाहुँदै पनि फिल्ममा केही उल्लेखनीय सकारात्मक पक्षहरू पनि छन्। फिल्मका कलाकारहरू पुरै फ्रेस छन्, हिरोदेखि भिलियनसम्म। कोही टिकटकका भाइरल, कोही सामाजिक सञ्जालमा धार्मिक कमेन्ट गर्दा विवादमा आएका पात्र, कोही युट्युबमा कमेडी भिडियो बनाएर चर्चामा आएका पात्र। यस्तै यस्तै। तर उनीहरूको अभिनय निरन्तर  अभिनय गरेका कलाकारहरू भन्दा कम छैन। बरु केही स्थानमा बलियो देखिन्छन्।

जितहाङ राई (पदम तामाङ),कुल व्बाईको उपनामले चर्चामा आएका पारस बम ठकुरी,शिवकुमार ज्ञवाली (आशिष् घिमिरे),निशा शर्मा (सिमरन पन्त) लगायतको यो पहिलो फिल्म हो। पहिलो भए पनि उनीहरूले तारिफयोग्य अभिनय गरेका छन्।

यीमध्ये पनि कसले बबाल अभिनय गर्यो भनेर उल्लेख गर्ने हो भने यूट्युवर पदम तामाङ अनि बाल कलाकार हुँदै ठुलो पर्दामा डेब्यु गरेका आशिष् घिमिरेको अभिनय निकै बलियो छ। उनीहरुको अभिनयको यात्रा लामो देखिन्छ। यो निर्देशकको सबैभन्दा प्रशंसायोग्य पक्ष हो।

'होस्टेल थ्री' नाम राखे पनि यसमा  पुरै एकतर्फी प्रेम र त्यसले निम्त्याउने उतारचढावको कथामा केन्द्रित छ। यौनिक अल्पसङ्ख्यक, स्कुलदेखिकै क्रस, कलेजमा भेट्दा टुसाउने एकतर्फी प्रेम, बीचमा भिलियन, षड्यन्त्र, जेल यात्रा। यस्तै ट्विस्ट नै ट्विस्ट भरिएको सहायक प्लट छन् फिल्ममा।

कथाको कथ्य शैलीमा निर्देशक थ्री इडियट्सबाट अलिअलि हैन, पुरै प्रभावित भए पनि फिल्मलाई नेपालीकरण गर्न केही मिहिनेत गरेको देखिन्छ। यसका लागि उनले एक रेखामा कथा बगाउने र एक मिसनमा पात्रलाई हिँडाउनुको साटो फिल्ममा एकपछि अर्को ट्विस्ट जोडेका छन्। तर सबै ट्विस्ट रोचक देखिदैन पर्दामा।

एक फिल्ममा कति वटा एकतर्फी प्रेमको कथा राख्ने? पात्रपिच्छे प्रेमका कथा बोकाएका छन् र्देशकले। किन होला ? छक्कै। अरू फिल्म निर्देशनै नगर्ने सोच त हैन होला। नत्र केही प्रेमकथा त अर्को फिल्मका लागि साँचेको भए पनि हुने।

तुलनामत्मक रुपमा फिल्मको पहिलो हाफ निकै रमाइलो छ। पात्रहरू फिट पनि छन् पहिलो हाफको कथामा। कलेजकालिन दृष्यहरुलाई पदम र आशिषको पञ्चलाइन कमेडीले निकै रमाइलो बनाउँछ दर्शकलाई। हाँसेरै कट्छ पहिलो हाफ। 

तर वार्डेन बनेका प्रवीण खतिवडाले त्यति कमजोर चरित्र र त्यति थोरै सिनका लागि किन फिल्ममा अभिनय गरेका होलान्? बुझिएन।  'होस्टेल थ्री'ले पकेट खर्च चल्यो होला उनको, तर उनले अभिनय मार्फत बनाएका सकारात्मक छवीलाई साथ दिएन।

जब दोस्रो हाफ सुरु हुन्छ अनि फिल्मको कथा लिकबाट बाहिरिन थाल्छ। मिसन र ट्विस्टको चाङ लगाएका छन् निर्देशकले। कहिले अनुहार जुधाएर ट्विस्ट निकालेको छ, कहिले स्कुलको प्रेम पाउने प्रयास, कहिले बदला लिन रचिएको षड्यन्त्र त कहिले के।

कथा कता दौडिएको हो दर्शक रनभुल्ल पर्छन्। कहिले पात्रलाई मारेको छ, अनि त्यही पात्रलाई ब्युँताएको छ। ट्विस्टको नाममा अलि अत्याचारको शैली देखिन्छ दोस्रो हाफमा। ट्विस्टको निर्माण गर्दागर्दा फिल्म कहाँ लगेर टुंग्याउने भन्नेमै निर्देशक तनावमा परेझैँ देखिन्छ। पात्रहरु भेला हुनुको मिसन फिक्स देखिन्छ। तर लक्ष्यसम्म पूर्याउन सक्दैनन् निर्देशकले ।

मरिसकेकी प्रेमीका ज्युँदै भेट्दा पात्रको अनुहारमा देखिने आश्चर्य पुरै गायब छ। जसको हत्यामा दोषी ठहरिएर जेल बसेको हुन्छ उही ज्युँदो देख्दा पात्रको मुहारमा देखिनुपर्ने आश्चर्य भाव पर्दामा देखिन्न। सामान्य देखिन्छ।

हत्या घटनामा प्रहरीले कोमाथि शंका छ भनेर सोध्दा भिडले औँलाले देखाएकै भरमा 'अरेस्ट हिम' भन्दै समातेको दृष्य टिढ लाग्दो छ। सहायक पात्रहरुको चयनमा  निकै लापर्वाही गरेको देखिन्छ। 

जोकको रूपमा प्रयोग गरिए पनि जातिगत हेपिएका संवादको संख्या बढीहुँदा नियतबश कुनै जात विशेष केन्द्रित फिल्म जस्तो देखिन पुगेको छ। बाहुनको नाकमाथि अति व्यङ्ग्य गरेका छन् निर्देशकले। पटक पटक एकै जाती विशेषमाथि गरिएका ती संवादहरूले जोकको हद अलि नाघेको अनुभव हुन्छ।

फिल्मका गीतहरूमाथि नै सेन्सर हानेको छ निर्माण टिमले। गीत बज्दाबज्दै काटिन्छ बिचैमा। पुरै गीत हेर्ने हो भने हलमा हैन, यूट्युवमा सर्च गर्नुपर्छ। गीतले फिल्मको कथालाई अगाडि बढाउन सघाउँदैन पनि, अवरोध मात्र गर्छ। ‘टिक टिक’ बोलेको बाहेक अन्य गीत स्मरणीय बनेका छैनन्। 

छायाङ्कन पक्ष राम्रो छ फिल्मको। कलरिङमा भने अलि बढी नै परीक्षण गरिएको हो कि जस्तो देखियो। कुनै सिनमा डार्क कलर खेलाइएको छ त कतै लाइट। कलरको टोन मिलाउन सकेको देखिएन। ब्याक ग्राउन्ड म्युजिक मध्यम खालको छ। यतिको सम्पादनलाई राम्रै भन्न सकिन्छ।

फिल्मको मूल सन्देश के हो? त्यो भने पुरै गायब छ। यौनिक अल्पसङ्ख्या पात्रको प्रेमको कथा समेटेका निर्देशकले त्यो समुदायमाथि न्याय गर्न सकेका छैनन्। त्यो समुदायमाथि न्याय गर्न सकेनन् निर्देशकले।

अन्त्यमा, होस्टेलको सबैभन्दा सकारात्मक पक्ष हो नयाँ कलाकारको जन्म। होस्टेल, होस्टेल रिटर्नसम्म हेर्ने हो भने यसले नेपाली फिल्म क्षेत्रलाई नयाँ नयाँ कलाकार दिएको छ। त्यसको बलियो उदाहरण अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, प्रकृति श्रेष्ठ हुन्।

'होस्टेल रिटर्न'बाट सुशील श्रेष्ठ, नाजिर हुसेन अनि स्वस्तिमा खड्का नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। 'होस्टेल थ्री'मा जे जति कलाकारहरूले अभिनय गरेका छन् तीनको अभिनयले उनीहरूको यही फिल्म नै अन्तिम हैन भन्ने प्रस्ट देखिन्छ।

राजकुमार हिरानीको कथ्य शैलीलाई होस्टेल थ्रीमा प्रयोग गरे पनि सशान कँडेल सफल भने भएनन्। अर्ग्यानिक कथाको साटो घोलघाल कथामा, वाह लायक फिल्म नबनाए पनि निर्देशकले होस्टेल थ्रीबाट पनि नेपाली फिल्म क्षेत्रलाई नयाँ कलाकार भने भित्र्याए। यतिमै भए पनि सन्तोक मानौँ अब।

फागुन २५, २०८१ आइतबार २२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।