ऊर्जा मन्त्रालयलाई कुलमानको जवाफ ‘बस्तुगत कार्यसम्पादन मूल्याङ्कन भए ९८.९९ अङ्क पाउँछु’

ऊर्जा मन्त्रालयलाई कुलमानको जवाफ ‘बस्तुगत कार्यसम्पादन मूल्याङ्कन भए ९८.९९ अङ्क पाउँछु’

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले वस्तुगत र निष्पक्ष रूपमा आफूले गरेको कामको मूल्याङ्कन गरेमा ९८.९९ अङ्क पाउने दाबी गरेका छन्।

मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले तीन दिनको समय दिँदै सोधेको चार बुँदे प्रश्नमा उनले १८ पेजको उत्तरसहित आइतबार बुझाएका हुन्।

कार्यसम्पादनमा घिसिङले शून्य अङ्क पाएपछि निकै विवाद भएको थियो। विवादकाबीच सरकारले तोकिएको समयमा उनले कार्यसम्पादन प्रतिवेदन नबुझाएको दाबी गर्दै आएको छ।

उनले मन्त्रालयमा बुझाएको पत्रमा कार्यसम्पादन प्रतिवेदन पेस गर्ने निश्चित अवधि नतोकिएको,२०८०-८१ मा पेस भएको कार्यसम्पादन प्रतिवेदनको बस्तुगत र निष्पक्ष मूल्याङ्कन भए तोकिएको लक्ष्य भएको कार्यसम्पादनको आधारमा आफूले ९८.९९ अङ्क पाउने उनको दाबी छ।

सन्धि ऐन अनुसार कार्यकारी निर्देशकले सम्झौतै गर्न नमिल्ने विषयमा भारतमा गएर सम्झौता गरेको आरोप समेत लगाइएको छ। उनले यसमा यस अगाडि पनि प्राधिकरणको कार्यकारी निर्देशक र निमित्त कार्यकारी निर्देशकले समेत सम्झौतामा हस्ताक्षर गरेको अभिलेखमा देखिने तर्क गरेका छन्।

उनले भारतसँग विद्युत् विनियमबारे आफूले गरेको हस्ताक्षरको वैधतामा प्रश्न उठाएर कारबाही गर्न खोज्नुले मन्त्री दीपक खड्काको आफूमाथिको पूर्वाग्रह रहेको देखिने तर्क गरेका छन्।

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम नउठाएको प्रश्नबारे उनले मन्त्रिपरिषद् र विद्युत् नियमन आयोगले प्राधिकरणले चाहेर मात्र बक्यौता उठाउनै नसक्ने अवस्था बनेको तर यसबारे आफूलाई मात्र दोषारोपण गर्नु पूर्वाग्रही काम भएको उल्लेख गरेका छन्।

पदीय काम, कर्तव्य अधिकार पालना नगरेको भन्ने आरोपको जवाफमा उनले आरोप मनोगत रहेको दाबी गरेका छन्।

फागुन २५, २०८१ आइतबार १९:५०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।