पूर्वराजा ज्ञानेन्द्र फर्किए, तर नारायणहिटी हैन निर्मलनिवास

काठमाडौं : आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउँदा गणतन्त्र उल्टाएर राजतन्त्र नै फर्काउने झैँ चर्को प्रचार गरियो सामाजिक सञ्जालमा। दलका नेता अनि समर्थकहरूको सातो गएको देखियो।
दलका नेता अनि समर्थकहरूको खस्किएको मनोबल देखेर राजतन्त्रवादीहरू हौसिए। पोखराबाट काठमाडौँ फर्कने ज्ञानेन्द्र पुरै राजाका रूपमा नारायणहिटी नै फर्किने जसरी चर्को प्रचारबाजी भयो। नारायणहिटीको गेट नै फोरेर ज्ञानेन्द्रलाई सङ्ग्रहालयमा राखेको राजगद्दीमै पो राख्छन् कि झैँ गरेर सुरक्षाकर्मी तैनाथ थिए दरबारमार्ग क्षेत्रमा।
तर पोखराबाट समिट एयरहुँदै आइतबार अपराह्न त्रिभुवन विमानस्थल उत्रिएका शाह नारायणहिटीतिर हैन निर्मल निवासतिर लागे। ज्ञानेन्द्र शाह फर्कन त फर्किए तर पोखराबाट काठमाडौँ।
पोखरामा राजावादीहरूले उनलाई पञ्चेबाजासहित बिदा गरेर काठमाडौँ पठाए। काठमाडौँमा विमानस्थल अगाडिबाटै समर्थकहरूले राजतन्त्रको पक्षमा चर्को नाराबाजी गर्दै निर्मल निवास पूर्याए।
उनलाई विमानस्थलको गोल्डेनगेटबाट स्वागत गरेर महाराजगन्जको निर्मल निवास छिराउन राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतकाहरु खुबै खटिएका थिए।
यस अगाडि यसरी काठमाडौँ बाहिर घुमेर फर्कँदा उनी गाडीभित्र बसेर लुसुक्क निर्मल निवास पुग्थे। आइतबार गाडीभित्र उभिएर छत खोल्दै समर्थकहरूलाई अभिवादन गरे।
निकै प्रफुल्ल मुद्रामा देखिएका थिए उनी स्वागत देखेर। यत्तिको स्वागत पाउँदा खुसी हुनु स्वाभाविकै थियो। पैदल, मोटरसाइकल अनि गाडीमा बसेर ज्ञानेन्द्रलाई स्कर्टिङको शैलीमा गोल्डेनगेटबाट गौशाला, चाबहिल, सुकेधारा अनि महाराजगञ्जहुँदै घरभित्र छिराएर ‘ल राजा फर्किए’ भन्दै समर्थकहरू प्रफुल्ल भएर आफ्नो वासस्थानतिर फर्किए।
बदलिँदै गएको दृश्य
हिजोका दृष्यहरुसँग आइतबारको दृश्यको तुलना गर्ने हो भने राजतन्त्रको पक्षमा वकालत गर्ने दल, राजतन्त्र समर्थक दुवैको आत्मबल बढेको प्रस्टै देखिन्छ। समर्थनमा सडकमा उत्रिएकाहरूको सङ्ख्या हिजोका तुलनामा बढेकै हो। तर यही सं ख्याले नारायणहिटीबाट निस्किएका ज्ञानेन्द्रलाई पुन त्यहीँ पुनर्स्थापित गर्न सम्भव भने देखिन्न।
कुनै दल विशेषको समर्थनमा निस्कने झाँकी समान देखिन्थ्यो आइतबारको दृश्य। दलहरूप्रतिको बढ्दो अविश्वासले निर्णायक समूह अहिले मौन देखिन्छन्। उनीहरूमा न राजतन्त्रप्रति विशेष मोह देखिन्छ न त गणतन्त्रकै बिछट्टै मायामा देखिन्छन् यो समूह।
राजतन्त्र अझ विशेष गरेर ज्ञानेन्द्र शाह अनि उनका उत्तराधिकारीको छविका कारण अहिलेको बेथिति अन्त्यको विकल्प राजतन्त्र हो भन्ने निष्कर्षमा पुगेको देखिँदैन यो समूह। अनि शासन सत्तामा रहेका दलको कुशासन र विकृतिले दलप्रति पनि उनीहरूमा आकर्षण देखिँदैन।
भोलीका दिनमा निर्णायक शक्ति यही अहिले मौन बसेको समूह नै हो। यो समूह अहिलेको कुशासनको विकल्प राजतन्त्र नै हो भन्नेमा सहमत भए गोल्डेनगेटमा उत्रिएर ज्ञानेन्द्र निर्मल निवास जानुपर्ने छैन।
फागुन २५, २०८१ आइतबार १७:५२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।