विमास्थलबाहिर राजावादीहरूको भीड बढ्दै, राजतन्त्रको पक्षमा नाराबाजी

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरूको भीड बढ्ने क्रम जारी छ।
पोखराबाट काठमाडौं आउन लागेका पूर्वराजा शाहलाई स्वागत गर्नका लागि विमानस्थल गएकाहरूलाई प्रहरीले गोल्डेन गेटबाट भित्र प्रवेश गर्द दिएको छैन।
विमानस्थलमा अनावश्यक भीड बढ्ने भन्दै विहान ११ बजेदेखि प्रहरीले टिकट भएका यात्रु र कर्मचारीलाई मात्र गोल्डेन गेटबाट भित्र छिराइरहेको छ।
आफ्ना आफन्तको बिदाइका लागि गएकाहरूलाई पनि प्रहरीले गोल्डेन गेटबाटै फिर्ता पठाइदिएको छ।
यसैक्रममा विमानस्थल छिर्ने मूलसडक बाहिर जम्मा भइरहेका राजावादीहरूले राजतन्त्रको पक्षमा ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी शुरू गरेका छन्।
स्वागतका लागि भेला भएका राजावादीहरूले ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने र्याली गर्दै लैजाने कार्यक्रम तय छ।
राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरूले नागरिकहरूलाई स्वागतमा भेला हुन आव्हान गरेका हुन्।
फागुन २५, २०८१ आइतबार १४:१६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।