मौसम पूर्वानुमान महाशाखाले भन्यो- कोशी, बागमती र गण्डकीमा केहीबेरमा हिउँ र पानी पर्छ

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशमा हिउँ र पानी पर्ने प्रक्षेपण गरेको छ।
केही बेरअघि एक सूचना जारी गरेर महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना रहेको जानकारी गराएको हो।
त्यसैगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा भने मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने देखिएको छ।
महाशाखाका अनुसार रातिदेखि भने यी ठाउँहरूको मौसम क्रमिक रुपमा सुधार हुँदै जानेछ।
भोलिका लागि भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिमपात तथा कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा भने मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना छ।
फागुन २७ गते देशको हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने देखिन्छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक-दुई ठाउँमा भने मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
फागुन २५, २०८१ आइतबार १४:०१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।