सांसद कान्तिकाको प्रसव पीडा र खुसी : सुत्केरीले खाए-नखाएको कसैलाई मतलब छैन, छोरा जन्मिएको खुसीमा भयङ्कर भोज

स्थानीय तहको नेतृत्व गरिसकेकी कान्तिका सेजुवाल प्रतिनिधि सभा सदस्य हुन्। विधेयक अधिवेशन चलिरहँदा त्यहाँ सहभागी हुनु र समिति सदस्य भएको नाताले उद्योग, वाणिज्य, आपूर्ति, श्रम तथा उपभोक्ता संरक्षण समिति बैठकमा आफ्नो धारणा राख्नु उनको दैनिकी हो।
उखु किसानको मुद्दादेखि अहिले सञ्चालन हुन नसकेका, सञ्चालन भएर पनि बीचमा थन्किएका उद्योगहरूको बारेमा अध्ययन गरिरहेकी छिन् कान्तिका अहिले। दुई वर्ष सांसद भएर बिताइसक्दा उनलाई संसद सोचेको जस्तो लागेको रहेनछ।
यद्यपि आफ्नो कामको गति भने बढेको उनको अनुभव छ। सदनले विश्वविद्यालयले भन्दा धेरै पाठ सिकाएको लाग्छ उनलाई।
माध्यमिक तहबाट जुम्लाकै पहिलो महिला प्रधानाध्यापक समेत भएकी उनले २५ वर्षको शिक्षण पेशाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिएकी हुन्। २०७४ को स्थानीय चुनावमा चन्दननाथ नगरपालिकाबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै पहिलो महिला मेयर बनिन् उनी।
अहिले पनि स्थानीयसँग तालमेल निकै राम्रो भएको दाबी गर्छिन् उनी। पारिवारिक माहोल नै राजनीति भएको कारण उनलाई राजनीतिको हावाले सानै देखि छोएको रहेछ।
सांसद मात्र नभएर कान्तिका चार सन्तानकी आमा समेत हुन्। उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटेकी छन्:
OOO
मेरो मावली, माइती सबै जना जुम्लाकै बासिन्दा हुन्। हजुरबुवादेखि नै नेता हुनुहुन्थ्यो। पञ्चायतकालमा ‘एमपी’देखि जिम्बलसम्म भइसक्नुभएका। गाउँमा हामी धनाड्यमध्ये मै पर्थ्यौँ। जिल्लामै पहिलो बिएड गर्ने मेरो मामा हुनुहुन्थ्यो। त्यै भएर पढाइको लागि मलाई अरूले जस्तो धेरै अप्ठ्यारो भएन।
मैले स्ववियु चुनाव पनि जितेको थिएँ। पछि शिक्षक संघकै राजनीति पनि गरेँ। बुवा नेपाली कांग्रेसको ‘गाउँ फर्क अभियान’को सदस्य हुनुहुन्थ्यो। त्यै भएर राजनीतिको माहोल त म जन्मनुअघि नै बनिसकेको रहेछ। मेरो मुवा जमानामै १२खरी पढ्नु भएकाले हामीले विद्यालय जानुअघि नै घरमा शिक्षा पाइसकेका थियौँ।
२०४७/०४८ को आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएँ। सत्ता परिवर्तन हुनुपर्छ, राजा हटाउनुपर्छ, बहुदल आउनुपर्छ, सबै समान हुनुपर्छ भनेर हामी लड्यौँ। त्यसबेला मेरो विवाह भइसकेको थियो। बीचमा जुम्लाकै दलित बस्तीमा सामाजिक सेवा गर्ने मौका पनि पाएँ। पछि शिक्षक संघमा जोडिए।
२५ वर्ष पढाउने काम गरेपछि २६औं वर्षमा स्वेच्छाले राजीनामा दिएँ। त्यसबेला कर्णालीमा छात्राहरूलाई पढ्ने व्यवस्था र ‘बहिरा’हरूलाई समेत पढ्ने व्यवस्था मिलाएकी थिएँ। सायद त्यही कारणले होला २०७४ को स्थानीय निर्वाचनमा मलाई स्थानीयले खूब रुचाए।
मेरो विवाह सानै उमेरमा भयो। २०४४ साल वैशाखमा मैले भागेर विवाह गरेँ, त्यो पनि अन्तर्जातीय। मङ्सिरमा हाम्रो रितिरिवाज अनुसार नै विवाह त भयो तर माइतीमा धेरैले स्वीकार्नुभएन।केही बुवाहरू (ठूलोबुवा, काका लगायत) त मसँग नबोलेरै बित्नुभयो।
भागेको बेला म एसएलसी पनि पास भएको थिइनँ, श्रीमान् चैँ बिएससी पढ्नुहुन्थ्यो। वारिपारी थियो हाम्रो गाउँ। हेर्दा हेर्दै मनपर्यो। चिट्ठीसँगै मन पनि साटियो। ठकुरीको छोरी क्षेत्रीसँग गयो भनेर गाउँमा त हंगामा नै भएको थियो। अहिले यसो हेर्दा नयाँ पुस्ताहरू त धेरै सुखी छन् जस्तो पनि लाग्छ।
हाम्रो बेलामा छोरीले पढ्नु हुँदैन भन्ने समाजमा बुहारी भएर पढ्नु पनि ठूलै आँट गर्नु थियो। छोरीहरू रजस्वला भएपछि बिहे गराइहाल्थे अनि कोहि पनि पढ्नै जाँदैनथे। तर, मैले त बिहे गरेकै भोलिपल्ट ‘स्कर्ट’ लागेर पढ्न गएको।
मैले अन्तरजातीय विवाह गरेपछि गाउँमा अरुले पनि गर्न थाले। छुवाछुतविरुद्ध पनि धेरै कामहरू हुन थालेको छ। रजस्वलाकै विषयलाई लिएर समेत कति धेरै भेदभाव छ। २०४७/२०४८ मै तीन दिनपछि नुहाएर म त घरभित्र पस्थेँ। पछि त त्यो पनि मतलब नै भएन। जे पनि सुरुवात भनेको आफैँबाट गर्ने रहेछ। गाली त कति खाएँ खाएँ!
OOO
एसएलसीको रिजल्ट आउनुअघि नै बाबु जन्मियो। बिहे भएको केही समयपछि नै गर्भ रहिहाल्यो। त्यसबेला परिवार नियोजनको कुरा पनि हुँदैनथ्यो। त्यसको साधन प्रयोग गर्नुपर्छ भन्ने त कुरै थिएन। मेरो चार जना सन्तान छन्। दुई छोरी, दुई छोरा।
तुलनात्मक रूपमा मलाई पहिलो सन्तानको समयमा निकै गाह्रो भयो। बिहानदेखि सुत्केरी व्यथा लागेको एकैचोटी राति १२ बजेतिर सुत्केरी भएँ। त्यसबेला मात्र हैन गर्भवती अवधिभर के खाने/नखाने। के गर्ने/नगर्ने केही पनि थाहा थिएन।
श्रीमान् अस्कल क्याम्पसमा पढ्नुभएको कारण म पनि केही समय काठमाडौं मै थिएँ। पछि जेठानी सुत्केरी हुनुभयो भनेर जुम्ला गइहालेँ। त्यहि बेला म आफैँ पनि गर्भवती भएको थाहा पाएँ। एक महिनासम्म अन्न पानी केहि पनि रुचेन। म त दुब्लाएर ४२ केजीको भएकी थिएँ। एकदम कमजोर।
सानो उमेर भएको कारणले बच्चा जन्माउन पनि गाह्रो भयो। स्वास्थ्य चौकी कहाँ हुनु त्यसबेला। गर्भवती हुनु भनेको त त्यसबेला ठूलो लाजको विषय हुन्थ्यो। मैले चार जना सन्तानलाई नै घरमा जन्म दिएको हुँ। धन्न कसैको पालोमा पनि अप्रेशन गर्न परेन। अप्रेशन गर्न परेको भए झन् मेरो शरीर के हुन्थ्यो होला।
पहिलो छोरा र पहिलो छोरीको बीचमा चार वर्षको उमेर अन्तर छ। त्यसपछि एक एक वर्षको अन्तरमा अर्को दुई सन्तान भएको हो। म आफैँ हिँडेर पढाउन जान्थेँ। त्यसले गर्दा पनि शारीरिक व्यायाम त पर्याप्त भएको रहेछ।
दोश्रो सन्तानको समयदेखि खानामा अलि रुचि बढ्यो। खाना बनाएपछि एक्लै पनि खान मन नलाग्ने। सबै साथीहरूलाई बोलाएर खान्थेँ। पछि-पछि हो अलि राम्रोसँग खाएको। त्यसबेला केही खानुपर्छ भन्ने पनि भएन। मलाई एक समय मकैको सातु चैँ निकै खान मन लागेको थियो।
त्यतिबेला हस्पिटलमा त जन्माउनु पर्छ भन्ने नै भएन। पहिलो सन्तानको बेलामा कपडाहरू पनि अलि-अलि मात्र व्यवस्थापन गरेको थियो। पछि त बहिनीहरूले गर्दा सबै सहज भयो। आफ्नो पहिलो सन्तानलाई त मैले निकैपछि मात्र समात्न पाएको।
हाम्रोमा सुडेनी आउँथिन्। बाबु निकै सानो थियो। पहिलो पटक उसलाई समात्दा के हो, के हो जस्तो लागेको थियो। कस्तो नाक, कस्तो अनुहार भन्ने भएको थियो। उसलाई देखेर भन्दा पनि जन्माएपछि जिउ हल्का भएको कारण पो मलाई आनन्द भएको थियो।
हाम्रोमा सुत्केरी नाचोखिएसम्म आफ्नो काम आफैँ गर्नपर्थ्यो। भाडा माझ्ने, सुत्केरीको लुगा सहने सबै आफैँ गरेको। म आफैँ साइन्स पढेको मान्छे। के गर्नु समाजमा बसेपछि समाज अनुसार चल्नैपर्यो। मलाई अहिले पनि लाग्छ, त्यसबेला म शहरमा बसेको भए मेरो जीवन अर्कै हुन्थ्यो होला!
छोरा जन्मिएपछि हाम्रोमा भयङ्कर भोज भतेर हुने। सुत्केरीले खाएको छ/छैन कसैलाई मतलब नै छैन। तर, छोरा जन्मिएको छ भनेपछि रातदिन देउडा लगाएर रमाइलो गर्नुपर्ने। बुहारी भनेपछि फेरि स्वभावले नै बढी अनुशासनमा बस्नुपर्ने। मैले त सुत्केरी स्याहार पनि पाइनँ।
सबै सन्तान गर्मी महिनामा जन्माएको। केही समयपछि दशैं आउँथ्यो। चाडबाडको तयारीदेखि लिएर पूरै घरको काम आफैँले गर्नुपर्थ्यो। त्यहि भएर अहिले बेलाबेला नमज्जासँग पैताला दुख्छ। आँखाबाट त्यत्तिकै आँशु आउँछ। हातहरू झमझम गर्छ।
अघि पनि भनेँ- हाम्रोमा सुत्केरी नचोखिएसम्म आफ्नो काम आफैँ गर्नुपर्थ्यो अनि चोखिएपछि अरु सबैको काम आफैँले गर्नुपर्थ्यो। स्तनपानमा पहिलो पटक अलि गाह्रो भएको थियो। तर पछि सबै राम्रो भयो।
बच्चाहरू सानोमा जस्तो स्वभावको थियो, त्यस्तै हुने रहेछ जस्तो लाग्छ। मेरो ठूलो बाबु पहिला पनि निकै ज्ञानी थियो, अहिले पनि एकदम शान्त र ज्ञानी स्वभावको छ। काम बाहेक घरबाट बाहिर निस्किँदैन। ऊ नेविसंघको नेता पनि हो अहिले। एलएलएम गरेको छ।
अरु सन्तान त दौडेको दौड्यै छन्। बच्चाहरूको उमेर बराबर नै हुँदा हुर्काउन निकै गाह्रो भएको थियो मलाई। यति धेरै झगडा गर्थ्यो उनीहरूले, सम्हाल्नै गाह्रो पर्थ्यो। जिन्दगी यति नै रहेछ जस्तो सम्म लागेको थियो।
दुई सन्तान भएपछि परिवार नियोजनको अस्थायी साधन पनि प्रयोग गरेको हो। तर, दुई सन्तान रहि त हाल्यो। ठिकै छ, उमेर नै छ भनेर जन्माइयो। मैले अरु केटीहरूलाई मेरो पीडा सुनाएर छिटो विवाह नगर, परिवार योजना बनाउ भन्ने गर्छु। अहिले त फेरि परिवार योजना भनेकै परिवार नियोजन हो जस्तै भाष्य निर्माण भएको छ।
चारमध्ये एक जनाको त विवाह भएर पनि अहिले नाति पनि छ। सबै हुर्किसके। आफ्नो खुट्टामा उभिसके। अहिले पनि मैले समय नदिएको उनीहरूले गुनासो गरिरहेको हुन्छ। उनीहरूले मलाई राजनीतिमा घरसँगै राजनीतिमा पनि सहयोग गर्छ।
पारिवारिक र राजनीतिमा जति संघर्ष गर्न सक्यो त्यो सफल हुनुको कारण उनीहरूको साथले नै हो। मैले पनि आफ्नो व्यक्तिगत र पेशागत मर्यादालाईसँगै अगाडि बढाउन सके जस्तो लाग्छ।
जसले जे भने पनि बाहिर जति नै नेता भएर हिँडे पनि आमा भएर सबै भूमिका बराबर निभाउन चैँ धेरै कठिन रहेछ। म आमा भएपछि झन् साहसी भएको छु। जुम्ला अझै पनि भौगोलिक विकटतामा लिप्त छ। त्यहाँ भौतिक पूर्वाधारलाई बढी प्राथमिकता नदिएसम्म अरु विकास नहुने जस्तो देखिएको छ।
त्यहि भएर अहिले नीति निर्माणमा व्यस्त भइरहनु परेकोमा कार्यकारी पद पायो भने अरु काम पनि गर्न सक्छु भन्ने लागेको छ। यतिका वर्ष मैले राजनीतिमा दिएँ। जिल्लाको कामलाई प्राथमिकतामै राखेँ। अब यसलाई बलियो बनाउनुपर्छ भन्ने लाग्छ।
फागुन २५, २०८१ आइतबार १९:०४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।