पूर्वराजाको स्वागतमा ट्राफिक व्यवस्थापन सहज पार्न कोटेश्वरदेखि निर्मल निवाससम्म टोली परिचालन

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमास्थलदेखि महाराजगञ्जसम्म हुने स्वागत र र्यालीमा ट्राफिक व्यवस्थापन सहज बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी परिचालन गरेको छ।
बाटो खाली गरेर डाइभर्सन नगरिने भएकाले अवस्था र भीड हेरेर डाइभर्सनका लागि फिल्डमा डिएसपीसम्मको ट्राफिक प्रहरी प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए।
‘कोटेश्वरदेखि एयरपोर्ट, गोल्डेन गेट, गौशाला, चावहिल, सुकेधारा र महाराजगञ्ज चोक हुँदै निर्मल निवाससम्मको रुटमा ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको छ,’ उनले उकेरासँग भने, ‘बीचमा स्वागत गर्ने र र्यालीमा लिएर जानेको संख्या बढेर गाडी आवतजावत हुन नसक्ने अवस्था आएमा डाइभर्सन गर्न प्रहरी परिचालन गरिएको छ।’
प्रहरी उपरीक्षक राउतका अनुसार अहिले काठमाडौं उपत्यकाका ट्राफिक सिंग्नल भएका स्थानमा केही समय रोकिनु परे पनि अवस्था सामान्य रहेको छ।
पूर्वराजा शाह पश्चिमका केही जिल्लाहरूको भ्रमण सकेर आज हवाइमार्गबाट काठमाडौं फर्कँदैछन्। यसअघि उनले स्याङ्जा, बागलुङ र कास्की लगायतका जिल्लामा धार्मिक स्थानमा भ्रमण गरेका थिए। त्योसँगै उनले पोखरामा स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गरेका थिए।
उनलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) सहित शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज सडकमा उत्रँदैछन्।
फागुन २५, २०८१ आइतबार ११:२२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।