युक्रेनमा रुसको आक्रमण झन् तीव्र, २५ जनाको मृत्यु

युक्रेनमा रुसको आक्रमण झन् तीव्र, २५ जनाको मृत्यु

एजेन्सी : रूसको पछिल्ला आक्रमणहरूमा युक्रेनमा छ बालबालिकासहित २५ जनाको मृत्यु भएको छ।

डोनेट्स्कमा भएको आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको र ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यसबाहेक अन्य क्षेत्रमा भएको आक्रममा १४ जनाको मृत्यु भएको हो।

आक्रमणमा खार्किभ र ओडेसा लगायत अन्य क्षेत्रहरूमा रहेका आवासीय परिसर र पूर्वाधारहरू पनि लक्षित थिए।

अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गोप्य जानकारी दिन प्रतिबन्ध लगाएपछि पछिल्ला दिनहरूमा रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेको छ।

युक्रेनमा रुसको पछिल्लो आक्रमणपछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेका छन्।

‘जब तपाईं कुनै तानाशाह र क्रुर व्यक्तिलाई खुसी पार्नुहुन्छ तब यस्तै हुन्छ,’ उनले लेखेका छन्, ‘धेरै बम, धेरै क्रोध, धेरै पीडितहरू।’

यसअघि, गत हप्ता, राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच अमेरिकी राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको थियो।

रुस र युक्रेनबीच युद्धविराम गराउने प्रयास गर्ने उद्देश्यले भएको बैठक चर्को बहसमा परिणत भयो।

युक्रेनमाथि यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो बयानपछि भएको हो, जसमा उनले रुसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने सोचमा रहेको बताएका थिए।

युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो।

फागुन २५, २०८१ आइतबार ०७:५७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।