कांग्रेस महामन्त्री शर्मा को दाबी ‘कांग्रेस देश र जनताको पक्षमा काम गर्ने पार्टी’

काभ्रेपलाञ्चोक : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सधैँ देश र जनताको हितमा काम गर्ने पार्टी भएको दाबी गरे। मण्डनदेउपुरमा नगर समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा भ्रातृ एवं शुभेच्छुक संस्था विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले २०८४ को चुनावभन्दा पनि मुलुक र जनताको चिन्ता गरिरहेको बताए।
शर्माले केही पुराना र नयाँ दलहरू २०८४ सालको चुनावको मात्र चिन्ता गरिरहेको भन्दै कांग्रेसको प्राथमिकता देशको समृद्धि र स्थायित्व रहेको दाबी समेत गरे।
‘राजनीतिक दलले सधैँ चुनावकै चिन्ता गर्दा देश बन्दैन। कांग्रेस इतिहास बोकेको पार्टी हो, यसले लाखौँ कार्यकर्ताको विश्वास जितेको छ। हामी चुनावकै चिन्ता गरेर समय खेर फाल्दैनौँ,’ उनले भने।
शर्माले कांग्रेसभित्र कुनै गम्भीर विवाद नरहेको दाबी गर्दै नेता कार्यकर्तालाई नआत्तिन र निर्धक्क भएर पार्टीका गतिविधिमा लाग्न निर्देशन दिए।
‘काम गर्दा केही कमीकमजोरी हुन सक्छन्। तर, कांग्रेस देशका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता हो। पार्टीभित्रको आन्तरिक किचलो अन्त्य नगरेसम्म जनताको मन जित्न सकिँदैन, त्यसैले कांग्रेस एकढिका भएर जानुपर्छ,’ उनले भने।
फागुन २४, २०८१ शनिबार २१:५१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।