प्रेस स्वतन्त्रतामा अंकुश लगाउने कानुन नबन्ने सभामुखको वाचा

प्रेस स्वतन्त्रतामा अंकुश लगाउने कानुन नबन्ने सभामुखको वाचा

गण्डकी : सभामुख देवराज घिमिरेले संसद्ले जनताको मौलिक अधिकार खोस्ने कुनै कानुन नबनाउने दाबी गरे। प्रेस क्लब गण्डकीद्वारा पोखरामा आयोजित कार्यक्रममा उनले लोकतन्त्र जनताको लामो सङ्घर्षको परिणाम भएको भन्दै, जनहित विपरीत कानुन नबन्ने बताए।

सभामुख घिमिरेले लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कुनै कानुन संसद्ले नबनाउने दाबी गरे।

‘कानुनको अभावमा विभिन्न बेथिति बढेका छन्, तिनलाई नियन्त्रण गर्न कानुन आवश्यक छ। तर, जनताको मौलिक अधिकार खोस्ने गरी कुनै कानुन बन्न सम्भव छैन,’ उनले भने।

अहिले सरकारले सामाजिक सञ्जाल नियमनको आवरणमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नै खुम्च्याउने प्रावधान राखेको विधेयक अगाडि बढाएको छ। उनले सामाजिक सञ्जालमा देखिएको विकृति र विसङ्गतिलाई नियमन गर्न कानुन आवश्यक भएको तर यस्तो कानुन अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने गरी नबनाइने दाबी गरे।

सभामुख घिमिरेले पत्रकारिता क्षेत्रको भूमिका समाचार सम्प्रेषण मात्र नभई समाजका गतिविधि उजागर गर्ने र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्ने पनि रहेको बताए।

कार्यक्रममा पत्रकार कृष्णमणि बराललाई ५० हजार रुपैयाँको प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान गरियो। सभामुख घिमिरेले उनलाई पर्यावरण, गिद्ध संरक्षण र पर्यटन पत्रकारितामा योगदान पुर्याएको भन्दै सम्मान गरेका थिए।

फागुन २४, २०८१ शनिबार २१:३८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।