नेपाल महिला अधिकारका क्षेत्रमा अग्रगामी: देउवा

नेपाल महिला अधिकारका क्षेत्रमा अग्रगामी: देउवा

ललितपुर : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अन्य देशभन्दा अगाडि रहेको बताए।

११५औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पार्टीको केन्द्रीय महिला विभागद्वारा आयोजित ‘नेपाली महिलाहरूको आह्वान: समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले नेपालमा महिलाहरूलाई अधिकारसँगै जिम्मेवारी दिने कुरामा पनि विश्वका अन्य देशहरूभन्दा अघि रहेको बताए।

सभापति देउवाले नेपालमा हरेक पालिकादेखि राज्यका उच्च तहसम्म महिलाहरूलाई नेतृत्व दिने व्यवस्था गरिएको उल्लेख गरे।

‘महिलाहरूले देशकै नेतृत्व गरिरहेका छन्, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,’ उनले भने। साथै, उनले थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै मिलेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।

पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले महिलाहरूलाई निर्णायक तहमा पुर्याउन कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्।

कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गरे।

परराष्ट्रमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नेपालमा महिला अधिकारका क्षेत्रमा उल्लेखनीय काम भए पनि अझै पर्याप्त नभएको बताइन्। ‘महिलाहरूलाई अधिकार दिएर मात्रै हुँदैन, उनीहरू आफैं सशक्त हुनुपर्छ,’ उनले भनिन्।

कांग्रेस महिला विभाग प्रमुख पुष्पा भुसालले महिला अधिकार र समानता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै पितृसत्तात्मक सोचका कारण महिलाहरू हिंसामा परेको उल्लेख गरिन्।

प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले महिलामैत्री नीति निर्माणमा सक्रिय रहनुपर्ने धारणा राखिन्। अन्य वक्ताहरूले पनि महिलाहरूको समान अधिकार सुनिश्चित गर्दै उनीहरूको सशक्तीकरणका लागि पार्टी, सरकार र समाज सबै तहबाट सक्रिय पहल गर्नुपर्नेमा जोड दिए।

फागुन २४, २०८१ शनिबार २१:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।