नेपाली महिला क्रिकेट टोली नामिबियासँग हार्यो

काठमाडौँ : युगान्डामा जारी चार देशीय महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाल पहिलो खेलमा नामिबियासँग छ विकेटले पराजित भएको छ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहँदा वर्षाले अवरोध पुर्याएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा छोट्याइएको थियो।
संशोधित लक्ष्य ७१ रन तोकिएको खेलमा नामिबियाले १४.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नामिबियाको उत्कृष्ट प्रदर्शन
नामिबियाका लागि मेकेलान्ये म्वाटिलेले सर्वाधिक २६ रन बनाइन्। जुरिएन डियर्गाड्र्टले अविजित १३ रन जोडिन् भने एडेल भान जिल (८), सुन विटम्यान (७), यास्मिन खान (६) र विल्का म्वाटिले (५*) ले पनि योगदान दिए।
नेपालका लागि कप्तान इन्दु बर्मा, कविता जोशी, पूजा महतो र ईश्वरी विष्टले समान एक÷एक विकेट लिए।
नेपालको कमजोर ब्याटिङ
नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा १० विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। सम्झना खड्काले सर्वाधिक १८ रन जोडिन्, जसमा चार चौका सामेल थिए। ईश्वरी विष्ट (१७*), कविता जोशी (१६) र पूजा महतो (१३) ले पनि केही योगदान दिए। अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्। नेपालले अतिरिक्त १५ रन प्राप्त गर्यो।
नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट लिए। केलिन ग्रिनले दुई विकेट तथा जुरिन डिएरगार्डले एक विकेट हात पारिन्।
नेपालले आफ्नो दोस्रो खेल आइतबार युगान्डासँग खेल्नेछ। त्यसपछि फागुन २६ गते हङकङ, फागुन २८ गते नामिबिया, फागुन २९ गते युगान्डा, र चैत १ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
फागुन २४, २०८१ शनिबार २१:१९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।