विद्युत् व्यापारीलाई ऊर्जा मन्त्री बनाएका गगन उभिए कुलमानको पक्षमा, सरकारको आलोचना

विद्युत् व्यापारीलाई ऊर्जा मन्त्री बनाएका गगन उभिए कुलमानको पक्षमा, सरकारको आलोचना

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार एक व्यक्ति विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लाग्नुको कारण नदेखिएको बताए।

शनिवार सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा बोल्दै थापाले सरकारको प्राथमिकतामा अन्य महत्त्वपूर्ण विषयहरू हुनु पर्नेमा अनावश्यक विवाद सिर्जना गरिरहेको भन्दै आलोचना गरे।

‘मैले बुझ्न सकिरहेको छैन, सरकारको यो कदम बदनियत हो कि बेढङ्ग? कुलमान घिसिङ त तीन-चार महिनापछि सेवा निवृत्त हुँदैछन्, त्यसपछि उपयुक्त व्यक्ति ल्याएर नेतृत्व दिन सकिन्छ। तर सरकार किन निरन्तर किचकिच गरिरहेको छ?’ उनले प्रश्न गरे।

थापाले ५० वटा राम्रो काम गर्दा एउटा नराम्रो काम भयो भने त्यसले सबै राम्रा काम छोपिदिने भन्दै कि राम्रो काम गर्न , नसके कम्तीमा नराम्रो काम नगर्न सुझाव दिए।

ऊर्जा मन्त्रालयको नेतृत्वमा कांग्रेसकै सांसद दीपक खड्का छन्। उनी आफैँ विद्युतको व्यापारमा संलग्न व्यक्ति भए पनि थापासहितको टिमले उनलाई मन्त्री बनायो।

खड्काले निरन्तर घिसिङलाई स्पष्टीकरण सोधिरहेका छन्। उनलाई प्रधानमन्त्री, मन्त्रीपरिषद् अनि कांग्रेसको समेत साथ देखिन्छ।

अहिले खड्काको आलोचना बढेपछि थापाले अहिले  पार्टीका मन्त्रीहरू नचाहिने विवादमा नफस्नु भनेर सुझाव दिए।

‘मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने जिम्मेवारी प्रधानमन्त्रीको हो। राम्रो कामको श्रेय पनि प्रधानमन्त्रीकै हुन्छ, नराम्रो कामको अपजस पनि लिनुपर्छ,’ उनले थपे।

फागुन २४, २०८१ शनिबार २१:११:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।