हिसाब नदेखाएको आरोपमा जनमत पार्टीको कोषाध्यक्ष निलम्बित

हिसाब नदेखाएको आरोपमा जनमत पार्टीको कोषाध्यक्ष निलम्बित

काठमाडौँ : पार्टीमा हिसाब नदेखाएको लगायतका आरोप लगाउँदै जनमत पार्टीले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई निलम्बन गरेको छ। चार बुँदे आरोपसहित पार्टीको केन्द्रीय अनुशासन समितिले उनलाई स्पष्टीकरण माग्दै निलम्बन गरेको हो।

समितिको सदस्य सचिव अनिता कुमारी मण्डलले हस्ताक्षर गरेको पत्रमा यादवमाथि पार्टीको विधान उल्लंघन गर्ने आरोप लगाइएको छ।

पत्रमा ७ दिनभित्र स्पष्टीकरण माग्दै यस प्रक्रियाभर राष्ट्रिय कोषाध्यक्षको पदबाट निलम्बन हुने उल्लेख छ। पत्रमा उनीमाथि राष्ट्रिय कोषाध्यक्षको महत्त्वपूर्ण पदमा काम गर्दा विदेशमा लामो समय बसेको र पार्टीका महत्त्वपूर्ण गतिविधिहरूमा अनुपस्थित रहेको भनिएको छ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, निर्वाचनपछि पार्टीको विरोधमा सामाजिक सञ्जालमा लगातार गतिविधि गर्दै पार्टीको कार्यकर्ताहरूलाई भड्काउने, गुटबन्दी गर्ने गरेको, गैर आवासीय मधेसी सङ्घका कार्यकर्ताहरूबाट ठगीको रकम उठाएर व्यक्तिगत कारोबार सञ्चालन गरेको र हिसाब नदिएको उल्लेख छ।

फागुन २४, २०८१ शनिबार १८:००:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।