अमेरिकी क्याबिनेटमा ट्रम्पकै अगाडि विदेशमन्त्री रुबियो र मस्कबीच भनाभन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा डज प्रमुख एलोन मस्क र विदेशमन्त्रीबीच भनाभन भएको छ।
न्यूयोर्क टाइम्सको एक रिपोर्टले दुईबीच बहस हुँदा २० जनाभन्दा बढी व्यक्तिहरू उपस्थित थिए। रिपोर्टका अनुसार कर्मचारी कटौतीको मुद्दामा दुई जनाबीच बहस भएको थियो।
बैठकमा मस्कले विदेशमन्त्रीलाई आफ्नो विभागमा कर्मचारी संख्या घटाउन नसकेको आरोप लगाए भने रुबियोले मस्कले झूट बोलिरहेको बताए।
रुबियोले मस्कलाई झूटो भन्दै विदेश विभागका एक हजार पाँच सय कर्मचारीहरूले समय अगावै अवकाश लिएको जानकारी गराए।
उनले भने, ‘के उनीहरूलाई घटेका कर्मचारीहरूमा गणना गरिँदैन? ती सबै कर्मचारीहरूलाई जागिरबाट निकालेको जस्तो देखाउन फेरि नियुक्त गर्न चाहन्छन् ट्रम्प?’
विदेशमन्त्रीको यो तर्कपछि मस्कले रुबियोलाई भने- ‘तपाईं वास्तविकतामा होइन, टिभीमा मात्र राम्रो देखिनुहुन्छ।’
मस्क र रुबियोबीचको बहसको क्रममा राष्ट्रपति ट्रम्प सुरुमा हात जोडेर आफ्नो कुर्सीमा बसे। दुई जना बीचको बहस चर्किँदै जाँदा, ट्रम्पले रुबियोको बचाउ गर्दै उनले राम्रो काम गरिरहेको बताए।
ट्रम्पले भने- ‘रुबियोले धेरै काम गर्न बाँकी छ। ऊ धेरै व्यस्त रहन्छ। उनी सधैं यात्रा गर्छन् र टिभीलाई पनि समय दिनुपर्छ। त्यसैले सबैले मिलेर काम गर्नु आवश्यक छ।’
फागुन २४, २०८१ शनिबार १४:०५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।