‘मलाई टिकटकर फाप्दैन’ भन्दा बलेसहित ‘कमेडी दरबार’का निर्देशक र कलाकारविरुद्ध साइबर ब्यूरोमा उजुरी

‘मलाई टिकटकर फाप्दैन’ भन्दा बलेसहित ‘कमेडी दरबार’का निर्देशक र कलाकारविरुद्ध साइबर ब्यूरोमा उजुरी
तस्बिर- ओएसआर रियालिटीको युट्युबबाट

काठमाडौं :  कमेडी रियालिटी शो ‘कमेडी दरबार’ आजकल विवादै विवादले घेरिएको छ। प्रसारित शोबाट हप्तैपिच्छे केही न केही नयाँ विवाद आइरहेकै छ।

यसै साता सार्वजनिक भएको २७औं एपिसोडको ट्रेलरमा गायक कुमा सागरलाई व्यङ्ग्य गरिएको भेटिएपछि अभियन्ताहरूले दबाब दिए। दबाबले गलेको निर्माण टिमले कुमा सागरलाई व्यङ्ग्य गरिएको अंश नै फाल्नुपर्यो।

यति मात्र होइन, अहिले आएर २६औं एपिसोडको विषयलाई लिएर साइबर ब्यूरोमा उजुरी नै पर्यो। उक्त एपिसोडमा फिल्म ‘लाज शरणम्’का कलाकारहरू सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे) र महेश त्रिपाठी उपस्थित थिए।

उनीहरूमाथि व्यङ्ग्य गर्ने क्रममा बलेको भूमिका निभाएका कलाकार सुन्दर खनालले सागर लम्साललाई ‘मलाई टिकटकर फाप्दैन’ भन्ने वाक्य प्रयोग गरे। सोही वाक्यलाई लिएर उजुरी परेकोबारे खबर आएको कलाकार खनालले उकेरासँग बताए।

‘मलाई टिकटकर फाप्दै फाप्दैन भन्ने डाइलगका कारण उजुरी परेको भन्ने खबर छ,’ उनले भने, ‘साइबर ब्यूरोबाट फोन आएको थियो। आइतबार दिउँसो १ बजे बोलाएका छन्। जानुपर्ला अब।’

उजुरी खनालसहित शोका निर्देशक बिक्की अग्रवाल, निर्मात्री श्रद्धा प्रसाईं, कलाकारहरू सागर लम्साल ‘बले’, उनकी श्रीमती स्नेहा दंगाल, उनकी साथी भावना ढकालविरुद्ध परेको हो। उनीहरू सबैलाई आइतबार दिउँसो १ बजे प्रहरीले ब्यूरो बोलाएको छ।

कुनै समय सागर लम्साल ‘बले’सँग प्रेम सम्बन्धमा रहेको टिकटकरले उजुरी दिएको विश्वस्त स्रोतले उकेरालाई बतायो।

के भएको थियो २६औं एपिसोडमा?
‘कमेडी दरबार’को २६औं एपिसोडमा फिल्म प्रचारका फिल्म ‘लाज शरणम्’को टिमबाट सागर, अर्जुन र महेश पुगेका थिए। त्यहाँका कलाकारहरूले प्रस्तुति दिने क्रममा कमेडियन सुन्दर खनालले सागर लम्साल ‘बले’को भूमिका निर्वाह गरे।

सुन्दरले आफ्नो प्रस्तुतिमार्फत त्यहाँ उपस्थित कलाकारहरूलाई व्यङ्ग्य गरे। सुन्दरलाई स्टेजमा अर्की कलाकार सुजिता श्रेष्ठले साथ दिएकी थिइन्। उनी उक्त प्रस्तुतिमा कुमार कट्टेल (जिग्री)को भूमिकामा थिइन्।

जिग्रीको क्यारेक्टरमा रहेकी सुजिताले ‘लाज शरणम् २’मा हिरो को राख्ने भन्ने कुरा हुन्छ। जवाफमा सुन्दरले ‘नम्रता सापकोटा राखौँ, हिरोइनमा त चलिनन् अब हिरो नै राखौँ’ भन्छन्।

यसैबीचमा जिग्री पात्रमा रहेकी सुजिताले, ‘बरु हामी मिस पवीलाई लिऊँ’ भन्छिन्। जवाफमा सुन्दरले ‘मिस पवि त हुँदैन बोरो, मलाई टिकटकर फाप्दै फाप्दैन’ भन्छन्।

अनि फेरि सुजिताले प्रश्न सोधिन्छ, ‘को चाहीँ फाप्छ तलाई?’ जवाफमा सुन्दरले ‘हस्पिटलबाट आको फाप्छ मलाई’ भन्छन्।

के भन्छन् निर्देशक बिक्की?
हरेक साताको कार्यक्रम यसरी विवाद भइरहेको सन्दर्भमा शोका निर्देशक विक्की आफैँ अचम्मका परेका छन्। उनले कमेडीलाई कमेडीकै रूपमा बुझिदिन आग्रह गर्दै  हरेक हप्ता उजुरी आएर प्रहरी धाउनुपर्ने अवस्था आइरहे शो नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने समेत बताए।

उनले भने, ‘कमेडी शो हो। कमेडीलाई कमेडीको रुपमा बुझिदिनुपर्छ। कहिले कसको चित्त बुझ्दैन, कहिले कसको चित्त बुझ्दैन। कसैको आँखा पो लाग्यो कि कसो हौ! हप्तै पिच्छे प्रहरी चौकी धाउनु पर्यो भने शो नै बन्द गर्नुपर्छ होला हौ।’

फागुन २४, २०८१ शनिबार १३:३७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।