मौसम खुल्ने आशमा धनकुटाको आकाश कुर्दै ‘परान’ टोली

काठमाडौं : कलाकार हुँदै टेलिश्रृंखला र म्युजिक भिडियो निर्देशनबाट फिल्म निर्देशनमा होमिएका निर्देशक दीपक आचार्य ‘काकू’ यतिबेला धनकुटामा छन्।
डेब्यु निर्देशकीय फिल्म ‘परान’को छायांकनका लागि उनी अहिले जम्बो टोलीसहित धरामा फिल्म छायांकन गर्दैछन्। अहिलेसम्म २० प्रतिशत हुने फिल्मको छायांकन धनकुटासँगै काठमाडौं र अमेरिकामा हुनेछ।
सामाजिक कथावस्तुमा आधारित फिल्मको छायांकनका लागि धनकुटा पुगेको टोली भने अहिले आकाश हेर्दै बस्नुपरेको छ। फिल्म छायांकनका लागि उचित मौसम नभएपछि निर्माण टोली तनावमा छ।
चिसोका कारण रफ्तारमा सुटिङ हुन गर्न सकिरहेको छैन भने निर्माण टोली कहिले मौसम खुल्ला र सुटिङ गरौँला भन्दै आकाश हेरेर बसिरहेको छ। १५ दिन भने फिल्मको छायांकन गरिएको छ।
‘लक्ष्यअनुसार काम गर्नै सकिएन, मौसम पुस/माघको जस्तो भइदियो,’ फिल्मका लेखक तथा निर्देशक आचार्यले भने, ‘कहिले सकिन्छ भन्ने नसक्ने अवस्था भो। कहिले मौसम खुल्छ हेरौँ।’
यद्यपि नयाँ वर्षअघि नै फिल्मको सुटिङ सकिने निर्देशक आचार्यले बताए। धनकुटाको सुटिङपछि काठमाडौं र त्यसपछि अमेरिका जाने निर्माण टोलीको तयारी छ।
आचार्यको निर्देशनमा बनेको फिल्म रञ्जित आचार्य र शेखर गोल्छाले निर्माण गर्दैछन्। शिवराम श्रेष्ठले छायांकन गर्ने फिल्ममा महेश त्रिपाठी, केकी अधिकारी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, सुवास गजुरेल, प्रवीण खतिवडा, पूजा चन्द लगायतका कलाकारको मुख्य भूमिका छ।
फिल्म ‘लाज शरणम्’को स्क्रिप्टको ड्राफ्ट गर्दा साथमै रहेका निर्देशक आचार्यलाई फिल्म घोषणा र निर्माणमा बाइपास गरिएपछि उनले नयाँ फिल्म ‘परान’ घोषणा गरेका हुन्।
फागुन २४, २०८१ शनिबार १२:००:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।