जनताको उदारतालाई कमजोरी नठान्न पूर्व राजालाई अध्यक्ष दाहालको चेतावनी

रौतहट : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई पार्टी खोल्न सुझाव दिएका छन्।
जनताको उदारतालाई कमजोरी सम्झेर ज्ञानेन्द्र शाहले राजनीति गर्न खोजेको भन्दै उनले त्यसका लागि पार्टी खोलेर चुनाव लड्न सुझाव दिए।
माओवादी केन्द्रले सुरू गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पाटी खोल्न र चुनाव लड्ने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए।
यद्यपि जवरर्जस्ती गर्न खोजिए जनतालाई सैह्य नहुने समेत उनको भनाइ छ। यसअघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता नगर्न चेतावनी दिए।
फरक प्रसङ्गमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनमा ल्याउनुपर्ने र यसका लागि माओवादी केन्द्र तयार रहेको बताए।
दाहाल सहितका माओवादी नेताले शनिबार गरुडा नगरपालिकामा मर्निङवाकसँगै आजको अभियान सुरू गरेका हन्। मर्निङवाक पछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेका थिए।
फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै शुक्रबार साँझ रौतहट प्रवेश गरेको हो।
फागुन २४, २०८१ शनिबार ०९:५३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।