राजतन्त्र भारतको पनि हितमा छ : रवीन्द्र मिश्र

राजतन्त्र भारतको पनि हितमा छ : रवीन्द्र मिश्र
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजतन्त्र भारतको पनि हितमा भएको बताएका छन्।

बीबीसी हिन्दीसँगको कुराकानीमा उनले गणतन्त्र र कम्युनिष्ट शासन कालमा नेपालमा भारत विरोधी भावना बढेको भन्दै राजतन्त्र भारतको पनि हितमा भएको बताएका हुन्।

नेपालमा विद्यमान प्रणालीबाट मानिसहरू खुसी नभएको र पुराना दिन सम्झन थालेको भन्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजतन्त्र हटेको १७ वर्षसम्म आइपुग्दा राजा ज्ञानेन्द्र अब खलनायक नरहेकरुो बताए।

उनले भने, ‘अब ज्ञानेन्द्र जहाँ जान्छन्, त्यहाँ मानिसहरूको भीड लाग्छ।’

चुनावी राजनीतिमा प्रवेश गरेर ज्ञानेन्द्रले देशको बागडोर आफ्नो हातमा किन लिँदैनन् भन्ने बीबीसीको प्रश्नमा मिश्रले ज्ञानेन्द्रले नेता नभएर राजा बन्न चाहेको बताए।

‘चुनावी राजनीतिबाट कोही पनि राजा बन्दैन। मलाई लाग्छ यो भारतको पनि हितमा छ। नेपालको कम्युनिष्ट शासनकालमा भारत विरोधी भावना बढेको छ। अहिले नेपालमा जनता राजतन्त्रको पक्षमा सडकमा उत्रिरहेका छन्।’

पोखरामा स्वर्गीय राजा वीरेन्द्रको मूर्ति अनावरण गर्दा आफूहरूले जनतासँगै राजतन्त्र व्यवस्थाको राष्ट्रिय गान गाएको स्मरण गर्दै उनने अब हामीलाई रोक्न कसैले पनि नसक्ने बताए।

‘पोखरामा महाराजा वीरेन्द्रको मूर्ति अनावरण गर्दा हामीले आम जनतासँगै राजतन्त्र व्यवस्थाको राष्ट्रिय गान गाएका थियौं,’ उनले थपे, ‘तर प्रहरीले हामीलाई रोक्न सकेन अब हामीलाई कसैले रोक्न सक्ने छैन। वास्तवमा, प्रहरी र सेना पनि वर्तमान प्रणालीबाट दिक्क भइसकेका छन्।’

फागुन २४, २०८१ शनिबार ०९:३९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।