चितवन राष्ट्रिय निकुञ्जमा डढेलो लगाउन सुरू

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा डढेलो लगाउने काम सुरू भएको छ। विगत एक सातादेखि निकुञ्जमा डढेलो लगाउन थालिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने गरिन्छ। निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित डढेलो लगाउने गर्दछन्।
उनले भने, ‘घाँसेमैदानमा भएका जलनशील पदार्थमा नियन्त्रित रूपमा डढेलो लगाउँदा सहज हुने र पछि अनियन्त्रित डढेलोको समस्या हुँदैन।’
निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये अहिले तीन सय हेक्टर क्षेत्रफल घाँसेमैदान व्यवस्थापन गरिएको छ। बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न नसकिएको उनले बताए।
नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने घाँस डढ्ने गर्दछ। घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने हुँदा जनावरलाई चरनका लागि सहज हुने उनले बताए। थापाका अनुसार नियन्त्रित डढेलोले जनावरमा क्षति हुँदैन।
उनले भने, ‘अनियन्त्रित डढेलोका कारण क्षति पुग्छ। नियन्त्रित डढेलो लगाउँदा वन्यजन्तुमा क्षति हुन पाउँदैन।’
नियन्त्रित डढेलो लगाउँदा पर्यापर्यटनका गतिविधिमा समेत असर नपर्ने उहाँको भनाइ छ। डढेलो पछि उम्रने कलिला घाँसका कारण वन्यजन्तु बस्ती पस्न रोकिने उनले बताए।
चर्को गर्मीसँगै अनियन्त्रित डढेलो फैलने भएकाले यो मौसममा नियन्त्रित डढेलो लगाउने गरिन्छ।
फागुन २४, २०८१ शनिबार ०७:४९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।