संसद्मा नयाँ-पुराना दलका सांसदको एउटै बानी : पाए बोल्ने, गफ दिने, हिँडिहाल्ने

संसद्मा नयाँ-पुराना दलका सांसदको एउटै बानी : पाए बोल्ने, गफ दिने, हिँडिहाल्ने

काठमाडौँ : २०८१ फागुन २३ मा प्रतिनिधि सभा बैठकको कार्यसूचीमा अन्य विषयवस्तुसँगै 'नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्तावमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काद्वारा प्रस्तुत हुने र छलफल हुने तय थियो। 

त्यो भन्दा अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संसद् बैठकका क्रममा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित रहेर सोधिएका प्रश्न तथा जिज्ञासाको जवाफ दिन समय मागेका थिए।

शुक्रवारको बैठक शुरु हुँदा नै संसद्का अधिकांश कुर्सीहरू रित्तै थिए। प्रतिपक्षी हुन् या सत्ताधारी रोह, अधिकांश कुर्सी रित्ता। प्रतिपक्षीको पहिलो रोहमा जम्मा ११ जना सांसद देखिए। अघिल्लो रोहमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन थिए।

प्रमुख प्रतिपक्षी दलका नेताहरू बस्ने रोहको अवस्था त झन् टिठ लाग्दो देखियो। रोहको अघिल्लो रोहका ६ वटै कुर्सी रित्तो। दोस्रो रोहमा देवेन्द्र पौडेल र एक महिला सांसद देखिइन्। अनि छिटपुट पछिल्तिर थिए केही सांसद। 

संसद बैठक सकिनु अगाडि नै बैठक कक्ष छाडेर निस्कदै गरेका सांसद अमरेशकुमार।प्रमुख प्रतिपक्षी अनि प्रतिपक्षीहरूको उपस्थिति त यस्तो भएपछि सत्ताधारीको अवस्था के होस्। उपसभामुख अगाडि देखिइन्। कृषीमन्त्री रामनाथ अधिकारी अर्का एक जनासँगै देखिए। बाँकी पुरै कुर्सी रित्तो। त्यसपछिका रोहको हालत पनि उस्तै।

सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु गर्दै आकस्मिक र शून्य समयमा विषयमा बोल्न समय मागेका सांसदहरूलाई समय दिए। नारायणी शर्मा, मनिष झा, दीपकबहादुर सिंह, तोसिमा कार्की, अमरेशकुमार सिंह, डीपी अर्याल, मेटमणि चौधरी लगायतका सांसदहरूले बोले।

बैठक चलिराखेकै थियो। बिस्तारै संसद्को कुर्सीहरू रित्तो हुँदै गए। सांसदहरू बैठक कक्षबाट बाहिरिने क्रम चलिरह्यो।

सभामुखले भौतिक योजनामन्त्री देवेन्द्र दाहालले आकस्मिक र शून्य समयमा उठेका प्रश्नबारे बोल्न समय मागेको भन्दै समय दिए। तर प्रश्न सोध्ने अधिकांश सांसदहरू नै उत्तर सुन्ने बेलामा कुर्सीमा थिएनन्।

रित्ता कुर्सीहरूलाई नै मन्त्री दाहालले आफ्नो कामको मूल्याङ्कनमा ७ नम्बर आए पनि आफू फेल नभएको तर केही विषयमा केही बढी उत्साहित भएको स्विकार्दै आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाए।

प्रधानमन्त्रीको तर्फबाट मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन पेस गर्न सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले समय पाए। उनले पेस गरे।

अनि ऊर्जा मन्त्री दीपक खड्कालाई  "नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्" भनी प्रस्ताव पेस गर्न समय पाए। रित्ता कुर्सीको सङ्ख्या बढ्दै गयो। छलफलमा भाग लिन समय लिएकाहरू आफ्नो पालो कुर्थे अनि बोलेर हिँडिहाल्थे। यही दृश्य दोहोरिइरह्यो संसद्मा।

संसद् बैठकमा भएका सांसदको ध्यान छलफलमा कम मोबाइल स्क्रिनमा बढी थियो। सांसद कान्तिका सेजुवाल, अमनलाल मोदी, अमरेश कुमार सिंह, शिशिर खनालहुँदै सुनिता बरालले आफ्नो भनाइ राख्ने क्रममा धेरैजसो सांसदहरू बैठक कक्ष छाडेर निस्किसकेका थिए।

संसद् बैठक छाडेर निस्किएकाहरू कोही लबीतिर, कोही बैठक कक्ष सँगैको हलतिर, कति भने चमेना गृहतिर थिए। अधिकांशले संसद् भवन छाडिसकेका थिए। उर्जामन्त्री खड्काले उठेका प्रश्नहरूको साक्षी त्यही रित्तो कुर्सीलाई बनाएर उत्तर दिए।

सभामुखले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ सदनमा पेस गरे। पहिला हुन्छ भन्ने सांसदहरूलाई हुन्छ भन्न भने। त्यो बेलासम्म सत्तापक्षमा सांसदको सङ्ख्या बढेको देखियो। हुन्छ भन्ने चर्कै आवाज आयो। अनि जब सभामुखले हुन्न भन्ने माननीयहरूले हुन्न भन्नुहोस् भनेर विपक्षी रोहतिर हेरे सबै कुर्सी रित्तै थिए। रित्तो कुर्सीबाट हुन्न भन्ने आवाज आउने कुरा भएन। हुन्न भन्ने आवाज सुनिएन भन्दै सभामुखले प्रस्ताव पास भएको बताए। विधेयकमाथि संशोधन पेश गर्न समय दिएर फागुन २७ गते बैठक बस्ने समय तोकेर करिब ३ घण्टा चलेर शुक्रवारको बैठक सकियो।

पुराना दलका, पुराना सांसदहरूको त यो ‘नानीदेखि लागेको बानी’ नै भयो। राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलका नयाँ सांसदहरूले बारम्बार संसद्मा हाजिर गर्ने अनि हिँडिहाल्ने प्रवृत्तिमाथि बारम्बार व्यङ्ग्य गर्छन् संसद्मा। शुक्रवार रास्वपाका सांसदहरू बस्ने अधिकांश कुर्सीहरू रित्तै थिए।

OOO

‘संसद् कानुन बनाउने अनि आम नागरिकको समस्याबारे गम्भीर छलफल हुने थलो हो’ भन्ने थेगो पुराना अनि अझ नयाँ सांसदहरूको मुखबाट बारम्बार सुनिन्छ। पुराना दलका सांसदहरू संसदीय बहसप्रति गम्भीर नभएको, संसद्मा हाजिर गरेर भाग्ने गरेको भनेर नयाँ दलका नयाँ सांसदहरू पटक-पटक संसद्मा बोलेर राम्रै फुटेज खाइरहेकै थिए।

पालो पाए बोल्ने अनि हिँड्नेहरूमा उनीहरू पनि कम देखिएनन्। शुक्रवारकै संसद् बैठकको तस्बिर हेर्ने हो भने सत्ताधारी दलका सांसदहरू बस्ने कुर्सीहरू रित्ता थिए नै, संसदीय अभ्यासबारे चर्का गफ दिने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बस्ने कुर्सीहरू पनि रित्ता थिए।

नेपाली कांग्रेस अनि एमालेका सांसदहरू बस्ने कुर्सीहरू रित्तै थिए नै। सरकार र सदन दुवैको गतिविधिमाथि कडा निगरानी र खबरदारी गर्ने जिम्मेवारी पाएको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरू बस्ने कुर्सीहरू पनि रित्तै थिए।

बैठक सुरु हुँदा प्राय भरिभराउ नै हुन्छ संसद्। त्यसपछि रित्तिँदै जाने हो। पहिला जसले बोल्ने पायो पाए बोली हाल्छन्। बोल्ने पालो पछाडि पर्नेहरू बोल्छन्, सांसद बैठकभित्र सुन्नेहरूमा सभामुख, संसद् सचिवालयका कर्मचारी र अधिकांश रित्ता कुर्सी हुन्छन्।

पार्टीले संसद् बैठकमा अनिवार्य उपस्थित भएर छलफलमा भाग लिन ह्विप जारी गरेको अवस्था बाहेक अन्य समय संसद्को दृश्य यस्तै टिठ लाग्दो नै हुन्छ। बोल्ने मौका पाए भने संसद्को गरिमा र संसद्मा हुनुपर्ने छलफलमा सहभागिताबारे ठूलाठूला गफ पेल्ने सांसदहरू नै लुसुक्क हिँडिहाल्छन्। उनीहरूको गफलाई उनीहरू बस्ने रित्तो कुर्सीले गिज्याइरहन्छ।

गम्भीर विषयको छलफलमा समेत यस्तै व्यवहार देखाउँछन् सांसदहरूले। २०८१ फागुन ४ को बैठकको अवस्था हेरौँ न। ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ पारित गर्ने बेलामा कोरममाथि प्रश्न उठ्यो। गन्दा कोरमका लागि एक जना सांसद पुगेनन्। अनि सभामुखले संसद् बैठक स्थगित गरे। भोलिपल्ट पुन बैठक राखेर विधेयक पारित गर्नुपर्यो।

प्रतिनिधि सभामा २ सय ७५ जना सांसद छन्। तर अधिकांश बैठकहरूमा पूर्ण सङ्ख्यामा सांसदहरू उपस्थित हुनु निकै दुर्लभ घटना नै मानिन्छ।

फागुन २३, २०८१ शुक्रबार २१:४५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।